सर्त पुरा नभए सम्म वार्ता हुँदैन ः मधेशी दल

0
362

काठमाडौ, २४ भदौ । आन्दोलनरत मधेसी दलका प्रभावशाली नेताहरुले सरकारले ईमान्दारिताका साथ बातावरण नबनाएसम्म बार्ता हुनै नसक्ने ठोकुवा गरेका छन ।
साक्षात्कारमा उनीहरुले सेना परिचालन फिर्ता, सम्झौता कार्यान्वयनको प्रतिबद्धता, मृतकलाई शहिद घोषणा र संविधानसभाको प्रक्रिया केही समयको लागि स्थगित गरे बार्ताको बातावरण बन्ने स्पष्ट पारे ।
मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का महासचिव रामजनम चौधरीले सरकारले अहिले बार्ताको नाममा समय तोक्दै भाषणमात्रै गरिरहेको भन्दै उपयूक्त बातावरण नबनाएसम्म कुनै पनि हालतमा बार्ता नहुने स्पष्ट पारे ।
उनले अहिले सरकारले बार्ता आब्हानको नाममा बार्ताको बातावरण विगार्ने काम गरिरहेको भन्दै मधेसमा परिचालित सेना फिर्ता, धरपकड बन्द, झुठामुद्दा फिर्ता र संविधानसभाको प्रक्रिया रोके बार्ताको बातवरण बन्ने भन्दै अहिले सरकार बार्ता भन्दा पनि पेलेर सोचमा रहेको दावी गरे ।
चौधरीले भने–कफ्र्यू र सेना परिचालन गरेर बार्ता हुँदैन । राजनीतिक समस्या हो यसलाई राजनीतिक ढंगले हल गर्नु पर्छ प्रशासनिक हिसावले समाधान हुँदैन ।
उनले राज्यले आफूहरुको माग नसुनेपछि बाध्य भएर आफूहरु अन्तर्राष्ट्रिय सस्था गुहार्न बाध्य भएको भन्दै यसलाई बार्ताको  पहलको रुपमा बुझ्न आग्रह गरे ।
तराई मधेस सदभावना पार्टीका बरिष्ठ नेता राम नरेश राय यादवले मुलुकको संविधान बनाउने बेला जनताले प्रश्न गर्नु स्वभाविक भएको भन्दै जनताले प्रश्न गर्दा जनतालाई आतंकारी भन्न नहुने तर्क गरे ।
उनले मुलुक बचाउने र संविधान बनाउन चाहेको हो भने एक साताको लागि संविधान निर्माणको प्रक्रिया रोकेर बार्ता गर्न आग्रह गर्दै त्यसो नगरे मुलुकको लागि दुर्भाग्यपूर्ण भएको तर्क गरे ।
यादवले बन्दुकको बलमा आन्दोलन समाप्त हुनै नसक्ने दावी गर्दै भने–बन्दुकको भरमा आन्दोलन सकिदैन । मधेस अब सुत्नेवाला छैन । कति मान्छे मार्छन हेरौला । यो अन्तिम लडाई हो, मधेसीहरु मर्न तयार छन ।
उनले सरकारले बातावरण बनाए बार्तामा बस्न तयार भएको भन्दै अहिले सत्ता जोगाउन आन्दोलनमा सरकारी घुसपैठ भईरहेको आरोप लगाए ।
मधेसी जनअधिकार फोरम नेपाल (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले आन्दोलनलाई केही समूहले  जातीय आन्दोलन बनाउने प्रयास भईरहेको भन्दै राज्यले संबेदनशिल भएर सोच्नु पर्ने आवश्यकता औल्याए ।
उनले राज्यले बार्ताको बातावरण बनाएर संविधानसभाबाटै संविधान जारी गर्नु पर्ने भन्दै अहिले तीन दलका तीन शिर्ष नेताहरुले  संविधानसभालाई अपहरण गरेको आरोप लगाए । यादवले भने–राज्यले आन्दोलनकारीलाई विश्वास दिलाउन सक्नु पर्छ । राज्यले आफ्नो कर्तब्य निर्वाह नगर्ने हो भने राज्यलाई अभिभावक मानिदैन ।
सदभावना पार्टीका महासचिव मनिष सुमनले संविधान बनिसकेपछि भन्दा बनिरहेको बेलामा विरोध  गर्नु उपयूक्त हुने भन्दे आफूहरुले सारेको चार बुँदे सर्त पुरा गरे आफूहरु बार्ताको लागि तयार रहेको स्पष्ट पारे ।
उनले भने–राज्यले बार्ताको आब्हान समय तोकेर गरिरहेको छ । हामी उसका रैती होईनौ । हामीलाई माईनस गरेर बनाएको संविधान कति टिक्दो रहेछ हेरौ । मधेसले अलग्गै संविधान बनाउँछ ।
उनले अब बालुवाटारको बातानुकुलित कोठामा नभई बार्ता मधेसमा हुने स्पष्ट पार्दै निहत्थाको हत्या गरिरहेका गृहमन्त्री बामदेब गौतम र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मधेसका २० जिल्लामा खुट्टा टेकेर देखाउन चुुनौति दिए ।
संघीय समाजवादी फोरम नेपालका सचिव रत्नेश्वर लाल कायस्थले जनता र आन्दोलनको कुरा नसुनी समय तोकेर यतिदिनभित्र बार्तामा आउ, वा अन्तिम पटक बार्ता गर्छौ भन्ने जस्तो कुरा गर्नु ठिक नभएको भन्दै राज्यले इमान्दारिताका साथ बार्ताको बातावरण बनाउनु पर्ने बताए ।
आन्दोलनमा मान्छे मर्नु,सालिक ढल्नु उचित नभएको भन्दै राज्यलाई सेना फिर्ता, सम्झौता कार्यान्वयनको प्रतिबद्धता र संविधानसभा स्थागित गरे बार्ता हुन सक्ने बताए।
उनले भने–सरकारले बेवास्ता गरिरहे अब आन्दोलनको स्वरुप फेरिन्छ । कस्तो हुन्छ अहिले हामी पनि भन्न सक्ने अवस्थामा छैनौ ।
उनले आफूहरु संविधानसभाबाटै संविधान जारी गर्ने पक्षमा रहेकोले संविधानसभा भने कुनै पनि हालतमा नछाड्ने स्पष्ट पारे ।
मधेस आन्दोलन आन्दोलनकारीको नियन्त्रणमा छैन
फोरम लोकतान्त्रिकका सभासद डा. सुबोधकुमार पोख्रेलले मधेसमा जारी आन्दोलन आन्दोलतकारीको नियन्त्रणमा नरहेको भन्दै नियन्त्रणमा रहेको भए एक मिनेट आन्दोलन स्थागित गरेर देखाउन चुनौति दिए ।
उनले मधेसको आन्दोलनमा घुसपैठ छैन र आन्दोलनमा कसैको सहयोग छैन भनेर भन्न चुनौति दिदै यो आन्दोलन हामी नेपालीकै आन्दोलन हो भनी आन्दोलनकारीले देखाउन सक्नु पर्ने बताए ।
मधेसको समस्या राजनीतिक भएकोले राजनीतिक समस्या बार्ताबाटै समाधान गर्नुपर्ने भएकोले बार्ताको विकल्प नभएकोले बार्ताको लागि राज्य र आन्दोलनकारी दुबै पक्षले बातावरण निर्माण गर्नु पर्ने बताए