संबिधान निर्माणमा देखिएको कम्जोरी सच्चाऔ ः सभासद्

0
362

काठमाडौँ, २४ भदौ । संविधानसभाको आजको बैठकमा ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथिको दफाबार छलफलमा भाग लिँदै सभासद््ले असन्तुष्टि व्यक्त गर्दै आएका दललाई वार्ताका लागि आह्वान गरिसकिएको अवस्थामा तत्काल वार्तामार्फत समस्याको समाधान गर्नुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी थापा पासवान र सरोज शर्माले हिन्दु राष्ट्रको घोषणा, दोहोरो नागरिकता लिन नपाउने व्यवस्था गर्न , भ्रष्टाचार र गैरकानुनी काम गर्नेलाई कडा भन्दा कडा कारवाही गर्ने व्यवस्था गर्न र राज्यको हरेक निकायमा महिला, दलित तथा जनजातिको उचित प्रतिनिधित्व हुनुपर्ने तर्क गर्नुभयो ।

एमालेका पार्वत गुरुङले संविधान जारी गरेर मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउनेतर्फ विशेष सोच राख्नुपर्ने र सोही प्रक्रियालाई अगाडि बढाउन छिटोभन्दा छिटो संविधान जारी गर्नुपर्ने बताउनुभयो ।

काँग्रेसका धनराज गुरुङले कवितात्मक शैलीमा नेपाल र नेपाली भएर संविधान लेख्न आग्रह गर्दै उहाँले जात जातिको राज्य होइन, नेपालीको राज्य संविधानमा लेख्न प्रमुख दलका शीर्ष नेतालाई अनुरोध गर्नुभयो ।

एमालेका शत्रुघन महत्तो र दलबहादुर सुनारले सीमा निर्धारणको विषयमा देखिएको कमजारी सच्याउन सकिने भए सच्याएर तराई मधेसमा देखिएको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

काँग्रेसका सीतादेवी यादवले संविधान जारी गर्ने बेलामा तराई मधेसका विभिन्न जिल्लामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने र उनीहरुको मागलाई वार्ताको माध्यमबाट समाधान गर्न आग्रह गर्नुभयो ।

एमाओवादीका महेन्द्रबहादुर शाहीले सभासद्हरुले राख्नुभएको संशोधन प्रस्तावमार्फत छुटेका महत्वपूर्ण विषयको सम्बोधन गर्न सकिने भएकाले त्यसमा विशेष ख्याल गर्नुपर्ने र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने धारणा राख्नु भयो ।

काँग्रेसका बालकृष्ण खाँड र अर्जुनप्रसाद जोशीले संविधानसभा बाहेक अन्य स्थानबाट संविधान बनाउने बाटो नभएको बताउनुभयो । काँग्रेसकै तेजुलाल चौधरीले आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्र टुक्र्याउन नहुने तर अन्य क्षेत्रका जनतालाई अधिकार दिन नचाहने प्रवृत्तिका कारण तराई मधेसमा समस्या पैदा भएकाले एकाध दिन संविधान निर्माण प्रक्रिया स्थगित गरी आन्दोलनमा रहेका दल तथा पक्षसँग वार्ता गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

काँग्रेसका खड्गबहादुर बस्यालले आफ्ना विभिन्न फरक मत भएपनि पार्टीको निर्देशन बमोजिम विधेयकलाई समर्थन गर्ने सवालमा सतिसाल झैं उभिने विश्वास दिलाउनुभयो ।

काँग्रेसका डा प्रकाशशरण महतले सम्पूर्णरुपमा सहमति हुन नसक्ने भन्दै प्रक्रियालाई स्थगन नगरी संविधान जारी गर्न आग्रह गर्नुभयो ।

एमालेका रवीन्द्र अधिकारीले पटकपटक निर्वाचन लडेर जमानत जफत हुने व्यक्तिले पनि आपूmलाई मधेसको प्रतिनिधि दाबी गरेर आन्दोलन चलाइएको भन्दै मुख्य दलले नै मधेसमा निर्वाचनमा अगुवाई गर्दै आएको बताउनुभयो ।

एमाओवादीका जनकराज जोशीले शान्ति प्रक्रियामा झैं संविधानका नमिलेका विषयमा राष्ट्रसङ्घीय निकायजस्तालाई पुनःमध्यस्थताका लागि आग्रह गर्न सकिने बताउनुभयो ।

काँग्रेसका रोमी गौचन थकालीले आफूलाई केही कुरामा चित्त नबुझेमा पनि आपसी एकताको गाँठो कस्न सकिने भएकाले लोकतान्त्रिक तथा गतिशील समाज निर्माणका क्रममा पछि पनि संविधान संशोधन गर्न सकिने बताउनुभयो ।

काँग्रेसका सुरेन्द्रप्रसाद चौधरीले नेपालको लोकतान्त्रिक राजनीतिलाई कसरी कूलिनतन्त्रबाट अलग गराउने भन्ने चुनौती खडा भएकाले दुई चारजना टाठाबाठा नेताले संविधानलाई ‘मनुस्मृति’ बनाउने खतरा भएको टिप्पणी गर्नुभयो ।

एमाओवादीका रुपा महर्जन र उषाकिरण अन्सारी, एमालेका प्रेम आले, कर्णबहादुर थापा, कृष्णकुमार राई, नरदेवी पुन मगर, अफिलाल ओखेडा, विकास लम्साल, काँग्रेसका डा चन्द्रमोहन यादव, दीलमान पाख्रिन, रामअयोध्याप्रसाद यादव, देवकरणप्रसाद कलवारले छलफलमा भाग लिनुभयो ।

यस्तै सभासद््हरु शम्मूलाल श्रेष्ठ, टेकू नेपाली, रामचन्द्र यादव (सिरहा २), तेजकुमारी पौडेल, डा गणेशकुमार मण्डल, गणेशसिंह ठगुन्ना, उषा गुरुङ, डीबहादुर लिम्बू, मिठु मल्ललगायतले भाग लिनुभयो ।