महोत्तरीमा कर्फयु कायमै ः जनजिवन कष्ठकर

0
797

महोत्तरी, २५ भदौ । बुधबार तनाबग्रस्त बनेको महोत्तरी सदरमुकाम जलेश्वर अहिले शान्त देखिएको छ ।
स्थानिय प्रशासनले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेपछि  जलेश्वर शान्त देखिएको हो ।

बुधबार राती ८ बजेदेखि जारी गरेको कर्फ्यु अहिले बिहान ६ बजेदेखि ९ बजे सम्मको लागि भने खुलाएको प्रशासनले जनाएको छ ।
३ घण्टाको लागि कर्फ्यु खुलेपछि जलेश्वरका नागरिकले केही राहत महशुस गरेका छन् । बिहान ६ बजेदेखि ९ बजेसम्मको लागि कर्फ्यु खुलाईएको प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले जानकारी  दिनुभयो ।
९ बजेपछि कर्फ्यु जारी गर्ने या नगर्ने भन्ने विषयमा सुरक्षा समितिको बैठक बसेर छलफल गरी निर्णय लिने काफ्लेले बताउनु भयो । बुधबार प्रहरीको गोली लागी जलेश्वरमा तीन जना प्रदर्शनकारीको ज्यान गएपछि स्थानिय प्रशासनले जलेश्वरमा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको थियो ।
यसैबीच, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा महोत्तरीले बिहीबार प्रेस विज्ञप्ती प्रकाशित गरी प्रहरीको गोली लागी ज्यान गुमाउने आफ्ना कार्यकर्तालाई शहीद घोषणा गरी क्षतिपूर्ति उपलव्ध गराउन सरकारसँग माग गरेको छ ।
त्यस्तै, एकीकृत नेकपा माओवादी महोत्तरीका सभासदहरुले पनि विज्ञप्ती निकालेर घटनाको निष्पक्ष छानबिन र उचित क्षतिपूर्तिको माग गरेका छन् ।