संविधानको परिमार्जित विधेयक माथि आजदेखि मतदान सुरु,शिर्ष नेताले सम्बोधन गर्ने

0
485

काठमाडौ, २५ भदौ । संविधानको परिमार्जित विधेयकका धारामाथि आजदेखि मतदान सुरु हुने भएको छ ।
संविधानसभाले नयाँ संविधानका धारामा मतदान गरी टुंगो लगाउने तयारी गरेको छ । संविधानसभाको बैठक बिहान ११ बजे बोलाइएको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले दिउँसो देखि संशोधन प्रस्ताव पारित प्रक्रिया सुरु हुने जानकारी दिनुभयो ।
आज संविधानसभाका बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले सम्वोधन गर्नु हुनेछ । मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले सभासदहरुले उठाएका प्रश्नको जवाफ दिएपछि मतदानको प्रक्रिया अघि बढ्ने संसद सचिवालयले जनाएको छ । प्रमुख दलका शीर्ष नेतासहित बाँकी रहेका नौजना सभासदले आफ्नो धारणा राखेपछि प्रक्रिया सुरु गरिने संसद सचिवालका प्रवक्ता सुदर्शन कुँईकेलले जानकारी दिनुभयो ।
आज मतदान गरेर टुंगो लगाउन सके भोलि संविधानका प्रत्येक धारा पारित गर्ने प्रक्रिया अघि बढाइने भएको छ ।
पहिले ५२ वटा संशोधन प्रस्तावमाथि ध्वनिमतका आधारमा निर्णय गरिनेछ । प्रत्येक प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । प्रस्तावको पक्षमा दुईतिहाई सभासदले “हुन्छ” भने संविधानको अंग बन्नेछ भने प्रस्तावको पक्षमा दुईतिहाई नपुगे स्वतः खारेज हुनेछ ।
ध्वनिमतको निर्णय कसैलाई चित्त नबुझे संविधानसभामा कायम सदस्यको १० प्रतिशत सभासदले उठेर मत विभाजन माग्न सक्नेछन् । त्यसपछि गोप्य मत विभाजन हुनेछ । मत विभाजन माग्नका लागि कम्तीमा १० प्रतिशत सभासद उठ्नैपर्ने नियमावलीमा व्यवस्था छ ।
राप्रपा नेपाल, संघीय समाजवादी फोरम नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नेपाल लगायत दलका नेताले संविधानसभा बहिष्कार गरेका छन् ।