कंग्रेश सभासदद्धारा संशोधन प्रस्ताव फिर्ता

0
722

काठमाडौँ, २६ भदौ । नेपाली काँग्रेसका तीन सभासद्ले संविधानको विधेयकमा दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता लिनुभएको छ ।

सभासद्हरु मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा र जीवन परियारले संशोधन प्रस्ताव फिर्ता लिनुभएको हो । दलितको हक अधिकारलाई लिएर उहाँहरुले संविधानको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो ।

पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टीको नीति र विचारलाई शिरोधार्य गर्दै जिम्मेवार कार्यकर्ताको नाताले संशोधन प्रस्ताव फिर्ता लिइएको सभासद् जीवन परियारले राससलाई जानकारी दिनुभयो ।

“हामीले आफ्ना विचार संविधानसभामा रेकर्ड गराइसकेको हुनाले देशको परिस्थिति साथै पार्टीको प्रस्तावित संशोधनको प्रस्तावलाई समर्थन जनाउँदै हाम्रो संशोधन प्रस्ताव फिर्ता लिएका हौँ,”–उहाँले भन्नुभयो ।

“पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको नीति र विचारप्रति प्रतिबद्ध रहँदै, संविधान बनाउने कार्यलाई सहज एवम् सफल पार्न संशोधनको प्रस्ताव हाललाई थाँती राखी हाललाई ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि हामीले विभिन्न धारामा राखिएको संशोधन प्रस्ताव (दर्ता नं ३९) फिर्ता लिएको जानकारी गराउछौँ”–संविधानसभा अध्यक्षलाई सम्बोधन गरी पठाइएको पत्रमा भनिएको छ ।