थरुहटद्धारा वार्ता टोली गठन,मधेशी मोर्चा पनि सकारात्मक

0
525

काठमाडौँ, २६ भदौ । प्रदेश सीमाङ्कनको विषयलाई लिएर आन्दोलनरत् थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समितिले सरकारसँग वार्ता गर्नका लागि तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।

समिति सचिवालयको आज बसेको बैठकले सरकारसँग वार्ताको वातावरण बनाउन तीन सदस्यीय वार्ता टोली गठन गरेको सभासद् एवम् समितिका प्रवक्ता अमनलाल मोदीले जानकारी दिनुभयो ।

तीन सदस्यीय वार्ता टोलीमा थारु नेताहरु अमनलाल मोदी, राजकुमार लेखी र मीनराज चौधरी रहनुभएको छ ।

“प्रमुख तीन दलले संविधान लेखनको प्रक्रिया रोकेर वार्ताको लागि आह्वान गर्नुलाई सकारात्मक लिँदै वार्ताको सकारात्मक वातावरण बनाउन वार्ता टोली गठन गरेका छौँ । हाम्रा सात बुँदे मागलाई कार्यान्वयनको थप प्रतिबद्धता आए वार्ता प्रक्रिया अघि बढ्छ,”–रासससँगको कुराकानीमा उहाँले भन्नुभयो ।

प्रमुख तीन दलका शीर्ष नेताहरुले आन्दोलनरत् थारु, मधेसीलगायतका समुदायलाई वार्तामा आउन आग्रह गर्दै शुक्रबार संविधानसभामा प्रस्तुत संशोधन प्रस्तावमाथिको छलफललाई दुई दिनका लागि रोक्ने निर्णय गरेका थिए ।

प्रमुख दलको उक्त निर्णयलाई सकारात्मक लिँदै थारु सङ्घर्ष समितिले वार्ताको वातावरणका लागि वार्ता टोली गठन गरेको छ, भने संयुक्त मधेसी मोर्चाका केही घटकहरुले सकारात्मक सम्पर्क बढाएका छन् ।

मोर्चाका शीर्ष नेताहरु काठमाडौँ आएका छन् । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव काठमाडौँ आए पनि आजै पार्टीको कार्यक्रमले भोजपुर जानुभएको छ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो काठमाडौँ आउनुभएको छैन । उहाँहरु दुवै आइतबार काठमाडौँ आउने बुझिएको छ । मोर्चाका अन्य नेताहरु भने राजधानी आइसक्नुभएको छ ।

यसैबीच संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का प्रवक्ता सर्वेन्द्रनाथ शुक्लाले रासससँग कुराकानी गर्दै वार्ताको वातावरणका लागि अनौपचारिक कुराकानी भइरहेको बताउनुभयो ।