आप्रबासीको समर्थन र बिरोधमा युरोपभर जुलुस

0
504

लन्डन, भदौ २७ । आप्रवासी समस्या झेलिरहेको युरोपका विभिन्न मुलुकमा आप्रवासीको समर्थन र विरोधमा र्‍याली निकालिएको छ ।

आप्रवासी समस्या सम्बोधन गर्नुपर्ने पक्षमा कतै र्‍याली निस्किरहँदा कतै भने आप्रवासीलाई भित्र्याउन नहुने पक्षमा र्‍याली निकालिएको हो ।

मध्यपूर्व र अफ्रिकाबाट ठूलो संख्यामा आइरहेका आप्रवासीहरुको व्यवस्थापन गर्ने चुनौती झेलिरहेको युरोपमा दोहोरो प्रदर्शन भएको हो । एक पक्षले आप्रवासीहरुका लागि सरकारले अधिक कदम उठाउनुपर्ने माग गरेको छ । अर्को पक्षले भने आप्रवासीहरुका कारण मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने भन्दै चेतावनी दिदैं आएको छ ।

जर्मन शहर म्यूनिखमा शनिबारमात्र करिब नौ हजार आप्रवासी भित्रिएका छन् । जर्मनीमा यो साता ४० हजार आप्रवासी आइपुग्ने अनुमान गरिएको छ ।

जर्मन चान्सलर एंगेला मर्केलले ठूलो संख्यामा शरणार्थी स्वीकार गर्ने आफ्नो निर्णयको बचाउ गरेकी छन् । तर यो निर्णयको विरोधमा उनकै सहयोगी राजनीतिक दलहरु उभिएका छन् ।

लन्डनमा दशौं हजार नागरिकले प्रधानमन्त्री निवाससम्म आप्रवासीको समर्थनमा र्‍याली निकालेका छन् । बेलायतको अन्य सहरमा पनि यस्ता र्‍याली निकालिएको बताइन्छ ।

स्वीडेनको राजधानीमा पनि करिब एक हजार नागरिकले आप्रवासीको समर्थनमा र्‍याली निकालेका छन् ।

डेनमार्कको राजधानी कोपेनहेगनमा ३० हजारभन्दा बढी प्रदर्शनकारीले आप्रवासीको समर्थनमा र्‍याली निकाले ।

तर पोल्याण्डमा आप्रवासीको विरोधमा र्‍याली निकालिएको छ । उनीहरुले इस्लाम विरोधी नारासमेत लगाएका थिए ।

त्यस्तै स्लोभाकिया र चेक गणराज्यमा पनि आप्रवासीको विरोधमा र्‍याली निकालिएको छ ।