संबिधान निर्माण प्रकृयाको उपलब्धिको भारतद्धारा स्वागत

0
530

काठमाडौँ, २९ भदौ । भारतले नेपालको संविधानसभाले संविधान निर्माण प्रक्रियामा हासिल गरेको उपलब्धिको स्वागत गरेको छ ।india

भारतको विदेश मामिला मन्त्रालयले सोमबार राति अवेर जारी गरेको विज्ञप्तिमा संविधान निर्माण प्रक्रियाले भारतलाई खुसी तुल्याएकोे उल्लेख छ । साथै, नेपालका सबै क्षेत्र, वर्गका आवाजलाई संविधानमा समेटेर नेपाली नेतृत्व एक प्रगतिशील, आधुनिक र एकताबद्ध नेपाल निर्माण गर्न सफल हुने विश्वास व्यक्त गरिएको छ ।

‘भारतले सदैव नेपालको शान्ति, स्थायित्व, एकता र विकासमा सहयोग गर्दै आएको छ । विगत दुई दशकयता भारत नेपालको हिंसा, अस्थिरता, आन्तरिक सङ्घर्ष र राजनीतिक कलहका नकारात्मक परिणामको साक्षी रहँदै आएको छ’– विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा राजनीतिक र प्राकृतिक जुनसुकै सङ्कट भएपनि भारत सरकार सधँै नेपालको हित र समृद्धिको पक्षमा रहेको उल्लेख छ । नेपाली राजनीतिक नेतृत्वले आपसी संवाद र छलफलबाट संविधान मस्यौदा अघि बढाउन सफल भएको पनि विज्ञप्तिमा जनाइएको छ ।

‘पछिल्ला केही वर्षयता देखिएका कैयौँ चुनौतीलाई नेपाली राजनीतिक नेतृत्वले विवेकपूर्ण र परिपक्व ढंगले समाधान गरेर दुई प्रमुख निर्वाचनमार्फत शान्ति प्रक्रियाका महत्वपूर्ण उपलब्धि समावेशी बहुदलीय लोकतन्त्र प्राप्त गर्न सफल भएको छ’– विज्ञप्तिमा जनाइएको छ ।