रुपन्देहीको बेथरीमा एक बालक सहित ४ जनाको मृत्यु

0
362

बुटवल, २९ भदौ । रुपन्देहीको भैरहवा–लुम्बिनी करिडोरबाट सामान लादिएका ट्रकलाई सुरक्षा दिई लगिँदै गरेका अवस्थामा प्रहरी र बन्दकर्ता मधेसी मोर्चाबीच  भएको झडपमा परी रुपन्देहीको बेथरीमा एक बालक को मृत्यु भएको छ ।
उक्त घटनामा रबरको गोली लागेर स्थानीयवासी चार वर्षीय चन्दनकुमार पटेलको मृत्यु भएको लुम्बिनी अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गणेश केसीले पुष्टि गर्नुभएको छ ।
उक्त घटनामा अन्य तीन जनाको मृत्यु भएको आशङ्का गरिएको भए पनि पुष्टि नभएको प्रहरीले जनाएको छ । प्रहरी र बन्दकर्ता गरी करिब १२ जना घाइते भएका छन् । झडपमा गोनाहा ६ का ३५ वर्षीय राजकुमार बराई, ३५ वर्षकै विन्दु लाकोल र १४ वर्षीया रञ्जना क्षेत्री घाइते भएको प्रजिअ विष्णुप्रसाद ढकालले जानकारी दिनुभयो ।
बन्दकर्ता घरेलु हतियार र ढुङ्गामुढा लिएर आक्रमणमा उत्रिएपछि प्रहरीले गोली चलाएको जनाइएको छ । बन्दकर्ताले प्रहरीका दुई गाडी र दुई मालवाहक ट्रकसमेत तोडफोड गरेका छन् । स्थिति अहिले साँझ नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
प्रहरी र आन्दोलनकारीबीच भएको झडपपछि प्रशासनले त्यस क्षेत्रमा स्थिति नियन्त्रण गर्न आज साँझ ८ बजेदेखि बिहीबार बिहान १० बजेसम्म निषेधाज्ञा जारी गरेको प्रजिअ ढकालले जानकारी दिनुभयो । गोनाहा गाविसको पूर्वतर्फ बनगाई चोक, पश्चिम बरेवा चोक, उत्तर दुर्गा मन्दिर र दक्षिण कालीमाई मन्दिरसम्म निषेधाज्ञा कायम गरिएको बताइएको छ ।