काठमाडौँ, २९ भदौ । विभिन्न माग राखेर आठ दिनदेखि आमरण अनशन बस्दै आउनुभएका बहुजन शक्ति पार्टीका अध्यक्ष तथा सभासद् विश्वेन्द्र पासवानले आज अनशन तोड्नुभएको छ ।
आज राति अबेर अनशनस्थलमा सभाध्यक्ष सुवास नेम्वाङले पासवानलाई फलफूलको रस खुवाएर अनशन अन्त्य गराउनुभएको हो । सरकारका तर्फबाट कानुन, न्याय संविधानसभा तथा संसदिय व्यवस्थामन्त्री नरहरि आचार्य र सभासद् पासवानबीच चारबुँदे सम्झौतामा हस्ताक्षर भएपछि अनशन तोडिएको हो ।
राज्यका सबै अङ्ग, तह, निकाय र संरचनामा दलित, पिछडा वर्ग, मधेसी, मुसलमान र अपाङ्गता भएका व्यक्ति तथा जनजातिको समानुपातिक र समावेशिताका आधारमा आरक्षण व्यवस्था गरिने, गरिब, किसान, मजदुर आदिको सामाजिक सुरक्षा अन्तर्गत स्वास्थ्य, शिक्षा, खाद्यान्न, रोजगारीको सुनिश्चितताको लागि कार्यदल गठन गरिने, महिलालाई छुट्याइएको ३३ प्रतिशत आरक्षणमा सबै जातिका महिलाका लागि समानुपातिक सिद्धान्तका आधारमा आरक्षण गरिनेलगायत विषयमा सम्झौतामा उल्लेख छ ।