५ असोज । ग्रिसका पूर्व प्रधानमन्त्री अलेक्सिस् सिप्रासले आफूले अबका दिनमा ग्रिसलाई आर्थिक विकासतर्फ अघि बढाउने बताउनुभएको छ ।
दोस्रो कार्यकालका लागि आफ्नो पार्टीले निर्वाचन परिणाम हात पारेपछि आफ्ना समर्थकहरूलाई सम्बोधन गर्ने क्रममा सिरिजा पार्टीका नेता समेत रहनुभएका उहाँले सो धारणा राख्नुभएको हो ।
दोस्रो कार्यकालका लागि आएको जनसमर्थनप्रति आभार प्रकट गर्दै उहाँले आफ्नो पार्टीको नेतृत्वमा हुने दोस्रो सरकार ग्रीसको आर्थिक तथा सामाजिक विकासका लागि सधैँ प्रतिबद्ध रहने र यसले आगामी दिनमा आर्थिक विकासका नयाँ कार्यक्रमहरु पनि ल्याउने बताउनुभयो ।
उक्त पार्टीका नेता भूतपूर्व प्रधानमन्त्री अलेक्सिस सिप्रासले आफ्नो दललाई बहुमत दिलाउने सम्पूर्ण मतदातालाई पार्टीको तर्फबाट धन्यवाद पनि दिनुभयो ।
सोमबार सार्वजनिक भएको नतिजाअनुसार सिरिजा पार्टीले ३५.५ प्रतिशत ल्याउन सफल भएको छ । त्यस्तै, मध्य दक्षिणपन्थी प्रजातान्त्रिक मोर्चाले २८.१ प्रतिशत मत ल्याएको छ ।
त्यसैगरी नाजी समूहको बाहुल्यता भएको भनिएको अर्को एक पार्टीले ७ प्रतिशत मत ल्याई तेस्रो ठूलो दल बन्न पुगेको प्राप्त समाचारमा जनाइएको छ ।
ग्रिस विगतको लामो समयदेखि नै ऋणसम्बन्धी सङ्कटमा फसेको छ । सिरिजा पार्टीले तेस्रो चरणको ऋण जमानत लिने कि नलिने भन्ने विषयमा यसअघि पनि जनमत सङ्ग्रह गराएको थियो ।
उक्त निर्वाचनमा ऋण जमानत नलिने भन्ने पक्षले जितेको थियो । बरु सुधारका कार्यक्रमहरु आफै ल्याउने र युरोपेली महासङ्घबाट बाहिरिनु परे बरु बाहिरै बस्ने भन्ने पक्षमा जनमत आएपछि युरोपेली महासङ्घमा ठूलो बहस ल्याएको थियो ।
सिप्रासले सरकार गठनमा सिरिजा पार्टीप्रति नरम मानिने दक्षिणपन्थी दल इन्डिपेन्डेन्ट ग्रीक्स पार्टीको समर्थन लिने जनाएको छ भने उक्त पार्टी सरकारमा सामेल हुने सङ्केत गरेको छ ।
नयाँ गठन हुन लागेको उक्त सरकारमा पूर्व प्रधानमन्त्रीले देशको आर्थिक सुधारका साथै मितव्ययतासम्बन्धी नयाँ कार्यक्रमहरु ल्याउने र यसै कार्यक्रममार्फत राष्ट्रलाई समृद्ध बनाउने आफ्नो सरकारको अभिभारा रहेको पनि प्रतिबद्धता पनि रहेको बताउनुभएको छ ।
ग्रीसको बामपन्थी दल सिरिजा पार्टीले दोस्रो कार्यकालका लागि सरकारको नेतृत्व सम्हाल्ने मौका पाएपछि नयाँ सरकारका लागि सोमबारबाटै तयारीहरु सुरु भएका बताइएको छ ।
दोस्रो कार्यकालका लागि उनको पार्टीले ल्याएको बहुमतको कदर गर्दै विश्वका सरकार प्रमुखहरुले बामपन्थी दल सिरिजा पार्टीका नेता सिप्रासलाई बधाई ज्ञापन गरेका छन् ।