ला लिग फुटबलमा बार्सिलोना पराजित

0
807

असोज ७  जारी स्पेनिस ला लिग फुटबलमा बार्सिलोना पराजित भएको छ ।

डिफेन्डिङ च्याम्पियन बार्सिलोनाला बुधबार राति भएको खेलमा सेल्टा डि भिगोसँग ४–१ ले पराजित भएको हो । हारसँगै बार्सिलोनाको अपराजित यात्रा समेत टुंगिएको छ ।

२६ औं मिनेटमा एगुडो डुरानले गोल गर्दै सेल्टा डि भिगोलाई सुरुवाती अग्रता दिलाए । त्यसको चार मिनेटपछि इयागो आस्पले गोल गर्दै अग्रता दोब्बर पारे ।

५६ औं मिनेटमा आस्पले व्यक्तिगत दोस्रो गोल गरेपछि सेल्टा डि भिगोको अग्रता ३–० मा पुग्यो । त्यसपछि खेलमा फर्कने प्रयास गरेको बार्सिलोनाका लागि ८० औं मिनेटमा नेइमारले एक गोल फर्काए ।

नेइमारले गोल गरेको तीन मिनेटपछि नै बार्सिलोनाले अर्को गोल खायो । जोन गाइडटीले ८३ औं मिनेटमा गोल गर्दै सेल्टा डि भिगोलाई ४–१ को जित दिलाए । जितपछि सेल्टाको पाँच खेलबाट १३ अंक भएको छ र उ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पाँच खेलबाट १२ अंक जोडेको बार्सिलोना अंक तालिकाको पाँचौं स्थानमा धकेलिएको छ ।

बुधबार राति नै भएको खेलमा मालागालाई १–० ले हराएको भिल्लारियलको पनि पाँच खेलबाट १३ अंक छ र उ गोल अन्तरमा पछि रहँदै तालिकाको तेस्रो स्थानमा छ ।

पाँच खेलबाट १२ अंक जोडेको एथ्लेटिको मड्रिड गोल अन्तरमा अघि रहँदै बार्सिलोना भन्दा एक स्थानमा माथि चौंथो स्थानमा छ । ५ खेलबाट १३ अंक जोडेको रियल मड्रिड खेल तालिकको शिर्ष स्थानमा छ ।