संबिधानको प्राथमिकतामा कर्णली ः अर्थमन्त्री

0
795

कालीकोट, ७ असोज । अर्थमन्त्री डा रामशरण महतले नेपालको संविधानमा कर्णालीलाई विशेष महत्व दिइएको बताउनुभएको छ ।

कर्णालीको भाग्य रेखासँग जोडिएको कालीकोट जिल्लाको खुलालुदेखि हुम्ला सिमीकोट हुँदै चीनको सिमाना हिल्सासम्म जोड्ने कर्णाली करिडोरको अनुगमनका अवसरमा यहाँ आइपुग्नुभएका अर्थमन्त्री डा महतले संविधानले पछि पारिएका क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताउँदै अब कर्णालीले छोटो समयमा विकासको गतिलाई पक्रने बताउनुभयो ।

जिल्लाको रकु गाविसस्थित लालीघाट रेगिल भिरको अवलोकनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले नेपाली सेनासँग भएको जनशक्ति र प्रविधिको प्रयोग गरी कर्णाली करिडोर निर्माणलाई तीव्रता दिन निर्देशन दिनुभयो ।

मन्त्री डा महतले कर्णाली करिडोर राष्ट्रिय गौरवको आयोजना भएकाले बजेटको अभाव नहुने बताउँदै निर्माणको कार्यक्रम बनाएर ल्याइएपछि आवश्यकतानुसार बजेटको व्यवस्था मिलाइने आश्वासन दिनुभयो । उहाँले भन्नुभयो, “कामलाई जति सक्दो छिटो गर्नुस्, म आवश्यक बजेटको व्यवस्था मिलाउँछु । कर्णाली करिडोर राष्ट्रिय गौरवको आयोजना हो, कर्णाली करिडोरले कर्णालीको साथै वर्तमान सङ्घीय संरचनाको प्रदेश नंं ६ को समग्र विकासका लागि महत्वपूर्ण योगदान दिन्छ ।”

कार्यक्रममा करिडोर निर्माणमा नेपाली सेनाले गरेको प्रगति तथा निर्माण प्रक्रियामा आइपरेका समस्याबारे अर्थमन्त्रीलाई जानकारी गराउँदै करिडोर निर्माण कार्यदल प्रमुख एवम् नेपाली सेनाका कर्णेण इन्दीवर गुरुङले हालसम्म चार किमी सडकको मार्ग खोलिसकेको र चालु आवभित्र ६८ दशमलव ५ किमी (बाजुराको अर्थुङगेचौरसम्म) मार्ग खोलिने बताउनुभयो ।

खुलालुदेखि हुम्लाको सदरमुकाम सिमीकोटसम्म १९६ किमी दूरी रहेको कर्णाली करिडोरको अनुमानित लागत रु दुई अर्ब ८४ करोड बढी छ । हालसम्म सडक विभागबाट रु २३ करोड र आव २०७१÷०७२ मा नेपाली सेनाबाट रु तीन करोड खर्च भइसकेको छ । करिडोर निर्माणका लागि चालु आवमा रु १९ करोड बजेट विनियोजन गरिएको छ ।