समस्या चाँडो समाधान हुने भारतका राजदूतको विश्वास

0
704

काठमाडौँ, १३ असोज । नेपालका लागि भारतका राजदूत रणजित रायले नेपालमा हाल उत्पन्न समस्या चाँडो समाधान हुने विश्वास व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध पुरानै अवस्थामा फर्कनेमा आफू ढुक्क रहेको बताउनुभएको छ ।

भारतीय दूतावासमा आज पत्रकार सम्मेलन गरेर उहाँले दुई मुलुकबीचको अहिलेको असमझदारी शीघ्र अन्त्य हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।

“अहिलेको समस्या नेपालको आन्तरिक विषय हो र त्यसको समाधानका लागि यहाँको नेतृत्व वर्ग लागिपरेको छ,” राजनीतिक समस्याको निकास खोज्न सम्बद्ध दलका नेता क्रियाशील रहेकाले शीघ्र निकास निष्कने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो ।

“बल प्रयोग गरेर तत्कालै समस्या समाधान भए पनि त्यो चिरस्थायी हुँदैन”, सीमापारिबाट भइरहेका अवाञ्छित गतिविधि नियन्त्रण गर्न आफ्नो मुलुकका सुरक्षाकर्मी प्रयोग गर्न नसकिने स्पष्ट गर्दै उहाँले भन्नुभयो ।

खुला सिमानाका कारण भारतीय भूमिमा नेपाली पुग्ने गरेका र ‘रोटीबेटीको’ द्विपक्षीय सम्बन्धमा सुरक्षाकर्मी परिचालन गर्न नसकिने उहाँको तर्क थियो । भारतले नेपाल र नेपालीलाई आदर गर्दै आएको र नेपालका सबै नेता भारतका मित्र भएका पनि बताउनुभयो ।

वार्ताको माध्यमबाट समस्याको निकास खोजिनुपर्नेमा जोड दिँदै उहाँले आन्दोलनरत पक्ष र सरकार मिलेर अघि बढ्नु श्रेयस्कर हुने बताउनुभयो ।