गुल्मी, १७ असोज । भारतीय हस्तक्षेप र अघोषित नाकाबन्दी गरेर जनतालाई दुःख दिएको भन्दै गुल्मीका विद्यार्थी सङ्गठनहरुले विरोधस्वरुप सङ्कलन गरेको हस्ताक्षर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र व्यवस्थापिका–संसद्का सभामुखलाई पठाएका छन् ।
सङ्कलित हस्ताक्षर र ध्यानाकर्षणपत्र विद्यार्थीले आइतबार गुल्मीका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेमार्फत पठाएका हुन् ।
विरोधमा उत्रिएका विद्यार्थी सङ्गठनले संयुक्त रुपमा सञ्चालन गरेको दोस्रो चरणको विरोधका कार्यक्रमअन्तर्गत शुक्रबार सदरमुकाम तम्घासको लाँकुरी मञ्चको सडकमा कफी पकाएर खाँदै हस्तक्षेपविरुद्ध हस्ताक्षर सङ्कलन गरेका थिए ।
नाकाबन्दीले आम नेपालीको दैनिकी कष्टकर बन्दै गएको भन्दै तुरुन्त नाकाबन्दी खुलाउन विद्यार्थी सङ्गठनले विरोधस्वरुप हस्ताक्षर सङ्कलन गरेको र सङ्कलित हस्ताक्षर प्रजिअमार्फत प्रधानमन्त्री कार्यालय र सभामुखलाई पठाएको नेवि सङ्घ गुल्मीका सभापति सुदर्शन खनालले बताउनुभयो ।