तातोपानी नाका खुले पनि कारोबार सुचारु हुन अझै अन्यौल

0
752

असोज १९ काठमाडौ  । भूकम्पबाट पहिरो लागी पटकपटक अवरुद्ध बाह्रबिसे तातोपानी सडकखण्ड शुक्रबार ट्र्याक खुले पनि सहजरुपमा ठूला गाडी खुल्न अझै केही दिन लाग्ने भएको छ ।

तातोपानीको १०३ किमीमा पर्ने डाक्लाङ नजिक र लिपिङको घट्टेखोलालगायतका स्थानमा निकै कठिनका साथ ठूला गाडी शनिबार लिपिङसम्म पुगे पनि सहजताका साथ सञ्चालन हुन केही दिन लाग्ने त्यहाँ कार्यरत सडक डिभिजन कार्यालय चरिकोटका इन्जिनियर रामबहादुर गुरुङले बताए ।

भूकम्पले ठाउँ ठाउँमा सुक्खा पहिरो गएपछि उत्तरी नाका जोड्ने बाह्रबिसे तातोपानी खण्डको २६ किमी सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडकलाई चीन सरकारको पहलमा गएको साउनमा खुलाइए पनि पुनःअवरुद्ध भएपछि भदौ तेस्रो सातादेखि सडक डिभिजन कार्यालयले खुलाउने प्रयासस्वरुप शुक्रबार मितेरी पुलसम्म पुग्ने एकतर्फी ट्र्याक खुलाइएको थियो ।

वार्षिक रु छ अर्ब राजस्व सङ्कलन हुने सो नाका विगत पाँच महिनादेखि ठप्प हुँदा करोडौँ राजस्व घाटा भएको छ । भूकम्पपछि विस्थापित भन्सार कार्यालय पनि आइतबारदेखि खुलेको भन्सार प्रमुख दिव्यराज पोखरेलले जानकारी दिए ।

भारत सरकारले दुई सातादेखि गरेको अघोषित नाकाबन्दीले नेपाली जनताले सास्ती खेप्नुका साथै व्यवसायीलेसमेत ठूलो घाटा व्यहोर्नु परेकाले चिनसँगको नाका पुनःसञ्चालन गराउन नेपाल सरकारले उचित ध्यान पु¥याउनुपर्ने सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमलकुमार श्रेष्ठले बताए ।