काठमाडौ, २१ असोज । कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले सरकारको नेतत्वका बारे निर्णय लिने जनाइएको छ ।
कांगे्रसभित्र पार्टी भित्रैबाट प्रधानमन्त्रीको उम्मेदवारी बनाउने कि एमाले अध्यक्ष ओलीलाई समर्थन गर्ने विषयमा दुई धार देखिएको छ । तर प्रधानमन्त्री कोइराला ओलीलाई समर्थन गर्ने पक्षमा हुनुहुन्थ भने एकथरी पक्ष नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने तयारीमा छन् ।
केही भने यसअघि चार दलबीचको ‘भद्र सहमति’ कार्यान्वयन नगरे संविधान कार्यान्वयनमा समस्या आउने बताइरहेका छन् । डेढ वर्षअघि सरकार बनाउँदा भएको सात बुँदेमा पनि संविधान जारीपछि एमालेलाई प्रधानमन्त्रीमा सघाउने सहमति भएको थियो ।
कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले आजको बैठकमा यसअघिका अनौपचारिक सहमति र आगामी अवस्थालगायतलाई आधारमा छलफल हुने बताउनुभयो ।