बडादसैँमा ठूला सार्वजनिक सवारीसाधनलाई आवश्यक इन्धन उपलब्ध गराउने

0
935

असोज २१ काठमाडौँ । नेपाल आयल निगमले हिन्दू धर्मावलम्बीको महान् पर्व बडादसैँ, दीपावली, छठलगायतका पर्वका अवसरमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सहजताका लागि ठूला सार्वजनिक सवारीसाधनलाई आवश्यक इन्धन उपलब्ध गराउने भएको छ ।

तराईका विभिन्न क्षेत्रमा भएको आन्दोलन तथा भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा कमी भएपछि निगमसँग रहेको मौज्दातको अधिकतम उपयोग गरी इन्धन उपलब्ध गराउने तयारी गरिएको हो ।

निगमले केही सातादेखि निगमसँग भएको मौज्दातलाई समुचित प्रयोग गर्न आम उपभोक्तालाई आग्रहसमेत गर्दै आएको छ ।

निगमले आन्तरिक उडानलाई पनि निरन्तरता दिने गरी हवाई इन्धन उपलब्ध गराउन अधिकतम पहल गरेको छ । भारतको अघोषित नाकाबन्दीका कारण नेपालमा चर्को इन्धनको अभाव हुँदै आएको छ ।

निगमले उपत्यकाका विभिन्न बिक्री डिपोबाट ३० हजार लिटर पेट्रोल र एक लाख ६६ हजार डिजेल आज उपलब्ध गराएको छ । निगमसँग मौज्दातलाई अधिकतम सदुपयोग गर्ने नीतिअनुसार व्यवस्थापन गरिएको आयल निमगका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले बताए ।

उनले नेपालबाट पठाइएका ट्याङ्करले इन्धन भर्न नसकेको उल्लेख गर्दै राजनीतिक तहमा कुरा नमिलेसम्म सहज नहुने बताए । निर्देशक खड्काले वैकल्पिक उपाय अवलम्बन गर्न निगमले गृहकार्य सुरु गरिसकेको बताए ।

निगमका प्रवक्ता दीपक बरालका अनुसार केही दिन अगाडि नेपालबाट गएका केही ट्याङ्करले मात्र इन्धन भर्न पाए पनि त्यो क्रम क्रमशः कम हुँदै गएको छ । नेपालले इन्धन भर्ने मुख्य डिपो बरौनी, रक्सौल र सिलगुडीमा एउटा पनि ट्याङ्करलाई आज इन्धन भर्न दिइएन् । अन्य स्थानबाट आज मात्र १५ ट्याङ्करले इन्धन पाएका छन् भने ग्यासका कुनै पनि बुलेट भरिएन ।

निगमले अत्यावश्यक भएका क्षेत्रमा मात्रै पेट्रोलियम पदार्थको उपलब्ध गराउने र सार्वजनिक सवारीसाधन तथा पर्यटन सेवामा सञ्चालित सवारीसाधनलाई, जोरबिजोर नम्बरलाई माइक्रोबसलाई १५ लिटर, मिनीबसलाई २० लिटर र ठूला बसलाई ३० लिटर पेट्रोलियम पदार्थ उपलब्ध गराएको निर्णय गरिसकेको छ ।

निगमले अति आवश्यक वस्तु ढुवानीमा संलग्न पिकअप, डेलिभरी भ्यानलगायतलाई जोरबिजोर नम्बरलाई जोरबिजोर गर्नेअनुसार १० लिटरका दरले उपलब्ध गराउँदै आएको छ । त्यसैगरी अति आवश्यक सेवा जस्तै दमकल, एम्बुलेन्सलाई १० लिटरका दरले पेट्रोलियम पदार्थ उपलब्ध गराइएको छ ।

ट्याक्सीलाई प्रतिसाता १० लिटरका दरले आइतबार र सोमबार मात्र जोरनम्बरकालाई जोर दिन र बिजोर नम्बरकालाई बिजोर गते परेको दिन पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको छ । त्यस्तै अति आवश्यक सेवामा प्रयोग हुने जेनेरेटर सञ्चालनार्थ सीमित परिणाम प्रहरी कल्याण कोष पम्प नक्साल र शक्ति देवी पेट्रोल सेन्टर, लगनखेलबाट उपलब्ध गराएको छ ।

निजी सवारी साधन तथा टिपर, ट्रक मिनीट्रक र निर्माण सेवासँग संलग्नलाई पेट्रोलियम पदार्थ उपलब्ध गराएको छैन ।