काठमाडौँ, २१ असोज । मानव बेचबिखन तथा ओसारपसार अपराधविरुद्धको यहाँ आयोजित अन्तर्राष्ट्रिय गोष्ठीले पाँच बुँदे काठमाडौँ कार्यनीति जारी गर्दै आज सम्पन्न भएको छ ।
नेपाल प्रहरीद्वारा आयोजित तीन दिवसीय गोष्ठीले सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय निकायबीच छुट्टै संयन्त्र निर्माण गर्ने कार्यनीति तय गर्दै संयन्त्रको संरचना र कार्यक्षेत्र निर्धारणका लागि प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाहको संयोजकत्वमा उच्चस्तरीय कार्यसमिति बनाएको छ । कार्यसमितिले तीन महिनाभित्र आफ्नो कार्य सम्पादन गर्नु पर्नेछ ।
गोष्ठी समापन गर्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले विभिन्न देशबीच इच्छाशक्ति र चाहना भए मानव बेचबिखनजस्तो जघन्य अपराधको सफल अनुसन्धान तथा नियन्त्रण गर्न सहज हुने बताउनुभयो ।
उहाँले आपसी कार्यगत एकता तथा समन्वय गर्न गोष्ठीमा सहभागी देशद्वारा व्यक्त प्रतिबद्धताप्रति धन्यवाद दिँदै मानव बेचबिखन जस्तो जघन्य अपराध नियन्त्रणमा एउटामात्र देशको प्रयास पर्याप्त नहुने भएकाले सबै देशले अनुभव साटासाट गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा नेपालका लागि अस्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले मानव बेचबिखनविरुद्धको कार्यमा एकजुट भई काम गर्न गोष्ठी महत्वपूर्ण रहेको चर्चा गर्दै यसमा आफ्नो तर्फबाट सक्दो सहयोग रहने बताउनुभयो ।
गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेले आफूले भ्रमण गरेका विभिन्न देशमा मानव बेचबिखन ठूलो समस्याका रुपमा रहेको देखेको बताउँदै यस अपराधविरुद्धको कार्यमा आफूले अभियान चलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गोष्ठी समापनका अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाहले गोष्ठीमा भएका छलफल र निर्णयका बारेमा प्रकाश पार्दै क्षेत्रीयस्तरमा निर्माण भएको सञ्जालले मानव बेचबिखनको अवस्थाबारे अध्ययन गरी नीति तय गर्ने तथा नागरिक समाजसँग मिलेर कार्य गर्ने जानकारी दिनुभयो ।
बुधबारदेखि सुरु भएको गोष्ठीमा दक्षिण एसिया, दक्षिण पूर्वी एसिया एवम् मध्यपूर्वी एसियाका कानुन कार्यान्वयन गर्ने निकाय तथा प्रभावित देशका प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी सरोकारवाला निकायसमेतको सहभागिता रहेको थियो ।