काठमाडौँ, १५ मङ्सिर । नेपाली काँग्रेस काठमाडौँ जिल्ला समितिले मुलुकमा बढेको कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा समितिका सभापति भीमसेनदास प्रधानले भारत सरकारले नेपालमा अघोषित नाकाबन्दी गरेका कारण जनजीवन प्रभावित भएकाले सरकारले कूटनीतिक माध्यमबाट चाँडो समाधान खोज्नुपर्ने र मधेस समस्या तत्काल वार्तामार्फत हल गरी कालोबजारीलाई नियन्त्रण गर्न माग गर्नुभयो ।
उहाँले मधेस आन्दोलन समाधानका लागि सरकारलाई संविधान संशोधन प्रस्ताव अगाडि बढाउन आग्रह गर्दै नेपाली काँग्रेस काठमाडौँले समस्या समाधानका लागि दबाब दिन भोलि काठमाडौँको शान्तिबाटिकामा पदयात्रा गर्न लागेको जानकारी दिनुभयो ।
नेपाली काँग्रेश काठमाण्डौले बुधबार दिउँसो १ बजे शान्ति वाटिकाबाट कालो बजारी बिरुद्ध ब्यापक प्रदर्शन गर्ने कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।