काठमाडौ, २२ मंसिर। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मोर्चाबाट अलग्गिएको घोषणा गरेको छ ।
राष्ट्रिय स्वाधीनतामा आँच आउनेगरी मोर्चाले गतिविधि गरेको भन्दै गठबन्धनले अलग भएको घोषणा गरेको हो । गत भदौ ३ गतेदेखि मधेसी मोर्चासँग मिलेर मुस्लिम गठन्धन आन्दोलनमा सहभागी हुँदै आएको थियो ।
बिहान काठमाडौंमा पत्रकार सम्मेलन गरी गठबन्धन संयोजक तथा तमलोपाका केन्द्रीय सदस्य शमिम मियाँ अन्सारीले अब गठबन्धनले छुट्टै आन्दोलन गर्ने बताउनुभयो । मधेसी मोर्चा नेताहरुको दिल्ली भ्रमण गलत भएको भन्दै उहाँले विरोध जनाउनुभयो ।
गठबन्धन संयोजक अन्सारी र महासचिव मोहम्मद जाकिर हुसैनले हस्ताक्षर गरेको बिज्ञप्तिमा आफूहरुका मुद्दामा मधेसी मोर्चाले छलफल नै नगरी निर्णय लाद्ने काम गरेको उल्लेख गरिएको छ ।