मधेसको समस्या समाधान काँग्रेसको अगुवाइमा ,सभापति कोइराला

0
596

काठमाडौँ, २२ मङ्सिर । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेपाली काँग्रेसको अगुवाइमा मधेसको समस्या समाधान हुने बताउनुभएको छ ।

नेपाली काँग्रेस खोटाङ क्षेत्र नं २ ले आज यहाँ आयोजना गरेको वर्तमान राष्ट्रिय राजनीतिक सङ्कट समाधानमा नेपाली काँग्रेसको भूमिका विषयक अन्तर्कृ्रयाका साथै कोशलराज रेग्मी–जयबहादुर राई स्मृति पुस्तकालयको भवनमा सहयोग गर्ने दातालाई सम्मान कार्यक्रममा सभापति कोइरालाले वार्ता र संवादका माध्यमबाट तराईको समस्या समाधान हुने धारणा राख्नुभएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका कोइरालाले आफ्नो सरकारको पालामा बनेको संविधान कार्यान्वयन गर्न आफ्नो दल प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अखण्डताका लागि नेपाली काँग्रेसले कसैसँग सम्झौता नगर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।

उहाँले संविधानले लोकतान्त्रिक मूल्य मान्यतालाई स्थापित गरेको भन्दै समावेशी र जनसङ्ख्याका आधारमा क्षेत्र निर्धारण गरिने बताउनुभयो । उहाँले पार्टीको आगामी महाधिवेशनले ६०÷४० को भागबन्डा अन्त्य गर्नु आवश्यक रहेको औँल्याउनुभयो ।

नेपाली काँग्रेसका कोषाध्यक्ष चित्रलेखा यादवले मधेसका मुद्दालाई समेट्न नेपाली काँग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

संविधान कार्यान्वयनका लागि राजनीतिक एकता आवश्यक रहेको औँल्याउँदै उहाँले भन्नुभयो, “बिना राष्ट्रिय एकता संविधान कार्यान्वयन हुन सक्दैन, राष्ट्रिय एकताबिना कुनै पनि निर्वाचन सम्भव छैन, त्यसैले मुलुकलाई अहिले राष्ट्रिय एकता आवश्यक छ ।”

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले मुलुकमा भएका विभिन्न आन्दोलन नेपाली काँग्रेसको नेतृत्वमा भएकाले संविधान कार्यान्वयनका लागि पनि काँग्रेसको महत्वपूर्ण भूमिका हुने स्पष्ट पार्नुभयो । उहाँले देशलाई अगाडि बढाउने प्रमुख जिम्मा नेपाली काँग्रेसको भएको बताउनुभयो ।