२३ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले राजनीतिक नेताहरुमाथि सुरु भएको छानविन नरोकिने बतउनु भएको छ ।
भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा बुधबार भएको कार्यक्रममा अख्तियारका प्रमुख आयुक्त कार्कीले आफूपद छाड्नु परे पनि अनुसन्धान नरोक्ने अवस्थामा पुगेको धारणा राख्नु भएको छ ।उहाँले भन्नु भयो (‘अनुसन्धानलाई अघि बढाउने काममा कसैसँग सम्झौता गर्दिनँ, बरु यसको लागि कुनैपनि मूल्य चुकाउन तयार छु।’
अख्तियारले पछिल्लो पटक एमाले, एमाओवादी नेताका साथै पूर्व मन्त्री र सचिव गरी २९ जनालाई पत्र काटेको छ । पत्रलाई लिएर एमाले र एमाओवादीले अख्तियार पूर्वाग्रही भएको भन्दै आलोचना गरिरहेका बेला कार्कीको यस्तो प्रतिक्रिया आएको हो ।
अख्तियार प्रमुख कार्कीले पत्र काटेका विषयलाई लिएर भएको विरोधप्रति पनि असन्तुष्टि जनाउनु भएको छ । पत्र काटेर छानविन गर्दैमा दोषी नहुने भन्दै उहाँले अनुसन्धानकै विरोध गर्नु राम्रो नहुने बताउनु भयो ।
आयोगले आग्रह र पूर्वाग्रहका आधारमा नभइ विधि प्रक्रिया पूरा गरेर अनुसन्धानका मूल्यमान्यताका आधारमा त्यसबाट आउने परिणामलाई सयौं पटक सोचेर मात्र कारबाहीको दायरा अघि बढाएको उहाँको धारण थियो।
राष्ट्रसेवक निजामती कर्मचारीलाई इंगित गर्दै अख्तियार प्रमुख कार्कीले राम्रो मनसाय राखे काम गर्नेहरू डाराउनु नपर्ने बताउनु भयो ।