पुष ५ काठमाण्डौ । भारतबाट आइतबारदेखि थप ९० मेगावाट विद्युत ल्याउने योजना तराईका कतिपय जिल्लामा चर्किएको आन्दोलनका तीन सातापछि मात्र पूरा हुन सक्ने अधिकारीहरुले बताएका छन्।
तर विद्युत प्राधिकरणका अधिकारीहरुले अबको केही सातामा मुजफ्फरपुर-ढल्केवर अन्तरदेशीय प्रसारण लाइनको निर्माण कार्य पूरा हुने र यसैबाट ९० मेगावाट बिजुली नेपाल भित्र्याउने अपेक्षा राखेका छन्।
गत जेष्ठ महिनामा पूरा गर्ने लक्ष्य राखिएको मुजफ्फरपुर-ढल्केवर अन्तरदेशीय प्रसारण लाइन तराईमा जारी निरन्तर आन्दोलनका कारण धकेलिंदै गरेको थियो।
पुस ५ गतेसम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिए पनि त्यो समेत पूरा नहुने भएको छ।अब काम सम्पन्न गर्न एउटा पोल राख्न र ८ किलोमिटर तार तान्ने काम बाँकी छ, हामीले सामाग्री ठाउँमा पुर्याउने बितिक्कै त्यो काम फास्ट ट्रयाकमा हुन्छ भन्छन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले ।
यद्यपि अबको केही सातासम्ममा सबै कार्य सम्पन्न हुने अपेक्षा प्राधिकारणका अधिकारीहरुले राखेका छन्।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने,”तराईको आन्दोलनका कारण जसरी यातायात ठप्प भएको छ, त्यसका कारण हामीले आवश्यक सामग्रीहरु ढुवानी गर्न सकिरहेका छैनौं, अब काम सम्पन्न गर्न एउटा पोल राख्न र ८ किलो मिटर तार तान्ने काम बाँकी छ, त्यसको लागि धेरै समय लाग्दैन, हामीले सामाग्री ठाउँमा पुर्याउने बितिक्कै त्यो काम फास्ट ट्रयाकमा हुन्छ, १५ देखि २० दिनको समय हामीले मागेका छौं।
नेपालले भारतबाट २ सय २० मेगावाट बिजुली खरिद गर्दै आएको छ।
तर जाडोयाममा राष्ट्रिय आयोजनाबाट विद्युत उत्पादन कम हुँदै जाने भएकाले ९० मेगावाट थपिएमा हाल दैनिक रुपमा जारी विद्युत कटौतीलाई थप बढ्नबाट रोकिन सकिने अधिकारीहरु बताउँछन्।तराई आन्दोलनका कारण भारले दिने भनेको ९० मेगावाट बिजुली ल्याउन समस्या भए पछि आईतबार बाट दैनिक ९ घण्टा पुगेको लोडसेडिङ अझै लम्बिनसक्ने बिद्युत प्राधिकरण स्रोतले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक काफ्लेले भने,”कहालीलाग्दो ढंगले लोडसेडिङ नबढ्ला, अहिलेकै १० घण्टाभित्र नै विद्युत कटौती हुनसक्छ, हाम्रो सोचाई के छ भने विद्युत कटौतीको यो तालिका अरु २० देखि २५ दिनसम्म रहन्छ, यो बीचमा ९० मेगावाट बिजुली आयात गर्नेछौं भन्ने हाम्रो योजना छ।”
नेपालमा अहिले दैनिक १२ सय ५० मेगावाट बिजुलीको माग छ।
जसमा नेपालबाट निजी र सरकारी जलविद्युत गृहबाट गरी ४ सय ३० मेगावाट र बाँकी बिजुली भारतबाट खरिद हुँदै आएको छ।बिबिसी