सिडिओ कार्यालयमा तोडफोड गर्ने मोर्चाका नेता पक्राउ

0
546

सर्लाही, ६ पुस। संघीय समाजवादी फोरम नेपालका सर्लाही जिल्ला अध्यक्ष अशोक यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
यादवलाई गएराती ८ बजे सदरमुकाम मलंगवामा रहेको रेडियो मधेशको कार्यालयबाट पक्राउ गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा प्रवेश गरी तोडफोड गरेकाले यादवलाई नियन्त्रणमा लिएको सर्लाहीका निमित्त प्रमुख जिल्ला अधिकारी षड्कुमार पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार यादवले हिजो दिउँसो सिडिओ कार्यालयमा प्रवेश गरि दुई वटा कम्प्यूटर र एउटा प्रिन्टर फुटाएका थिए । बन्दको बेला कार्यालय खोलेको भन्दै यादवले कार्यालय भित्र प्रवेश गरी कर्मचारीहरुलाई धम्की समेत दिएका निमित्त प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।
प्रहरीले यादवलाई हिजो दिउँसो पनि तीन घण्टा नियन्त्रणमा लिएर छाडेको थियो । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका यादवविरुद्ध सार्वजनिक मुद्दा चलाउने तयारी भैरहेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी रमेशकुमार खड्काले जानकारी दिनुभयो ।
मधेसी मोर्चाको एक घटक तमलोपाका सर्लाही जिल्ला अध्यक्ष एवं सांसद जंगिलाल रायले आफूहरुको आग्रहलाई अटेर गर्दै कार्यालय खोलेकाले सिडिओ कार्यालयमा तोडफोड भएको रायले बतााउनुभयो ।
आफ्ना नेता पक्राउ परेपछि मोर्चाका कार्यकर्ताले सदरमुकाम मलंगवामा कुनै अप्रिय घटना घटाउन नपाउन भनेर सदरमुकाम मलंगवामा आज बिहानैदेखि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।