पोखरा, ६ पुस । यस वर्षको लेखनाथ साहित्य पुरस्कार– २०७२ कवि मुकुन्दशरण उपाध्यायलाई प्रदान गरिने भएको छ ।
लेखनाथ साहित्य प्रतिष्ठान पोखराद्वारा सञ्चालित उक्त पुरस्कारको राशि नगद रु ५० हजार र सम्मानपत्र रहेको छ ।
पुरस्कार एवम् सम्मानका लागि व्यक्तित्व छनोट गर्न प्रतिष्ठानका सल्लाहकार कृष्णप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गरिएकोमा सो समितिले उपाध्यायको नाम छनोट गरी सिफारिस गरेको हो ।
समितिमा डा. वासुदेव त्रिपाठी, डा. प्रतिभा पाण्डे, लेखनाथ साहित्य पुरस्कार अक्षयकोष सञ्चालक समितिका अध्यक्ष शुक्रराज अधिकारी र प्रतिष्ठानका सदस्य सचिव कृष्णप्रसाद पौडेल रहनुभएको थियो ।
नेपाली भाषा र साहित्यमा महत्वपूर्ण योगदान पु¥याएका कारण उपाध्यायलाई यस वर्षको लेखनाथ साहित्य पुरस्कार– २०७२ प्रदान गर्न सिफारिस गरिएको प्रतिष्ठानका सल्लाहकार एवम् व्यक्तित्व छनोट समितिका संयोजक कृष्णप्रसाद बास्तोलाले जानकारी गराउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालका अनुसार सो पुरस्कार कवि शिरोमणि लेखनाथ पौड्यालको १३२ औंँ जन्मजयन्तीका अवसरमा आगामी पुस १५ गते प्रदान गरिने छ ।
कास्कीको हेम्जामा विसं १९९७ मा जन्मिनुभएका कवि उपाध्यायका प्राकृत पोखरा (खण्डकाव्य), धरती र आकाश (कविता सङ्ग्रह), शैलसरिता (संस्कृत कविता सङ्ग्रह), महाभारत सुक्तिसुधा (सुक्ति सङ्ग्रह), वरदान (उपन्यास) लगायतका आठ कृति प्रकाशित छन् ।
उपाध्यायको ‘प्राकृत पोखराʾ कृतिले २०२१ सालको मदन पुरस्कार प्राप्त गरेको थियो । नेपाली भाषाको समृद्धि र विकासका लागि विशिष्ट योगदान पु¥याउनुभएका उहाँले २०२५ सालदेखि नेपाली भाषाको विश्वव्यापी एकरुपता अभियान पनि सञ्चालन गरिरहनुभएको छ ।