ओली सरकारको राजीनामा नै अन्तीम माग ः मोर्चा

0
467

काठमाडौं, पुस ६ । प्रमुख प्रतिपक्षी कांग्रेस र मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच अबको माग प्रधानमन्त्री केपी ओलीको राजीनामालाई बनाउने विषयमा छलफल अगाडि बढेको छ ।

कांग्रेस सभापति सुशील कोइरालासँगको वार्तामा मोर्चाका नेताले यस्तो माग ल्याएको स्रोतले जनायो

मोर्चाका नेता एवं तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले कोइरालासँग शनिबार भएको भेटमा यस्तो प्रस्ताव ल्याएको स्रोतले बतायो ।

ठाकुरलाई उद्धृत गर्दै कांग्रेस स्रोतले भन्यो,‘मधेस आन्दोलनको मुख्य माग सीमाकंन रहेकोमा विवाद छैन तर मार्चाको ११ बुँदे मागको निकासका लागि मधेस र मधेसीविरोधी प्रधानमन्त्री ओलीको राजीनामालाई प्रमुख प्रतिपक्षी दलले अगाडी बढाउनु पर्‍यो ।’

बर्तमान सरकार जति बढी टिक्छ, त्यतिन्जेल मधेसी मुद्दाले निकास पाउन नसक्ने भन्दै ठाकुरले ओलीको निरन्तरताले मुलुक अकल्पनीय स्थितिमा पुग्नसक्ने धारणा कोइरालासँग राखेको थिए ।

ठाकुरको प्रस्तावमा सकरात्मक देखिएका कोइरालाले ओली सरकार लामो समयसम्म नजानेमा आफू र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच पनि अनौपचारिक परामर्श भएको जानकारी ठाकुरलाई दिएको स्रोतले बतायो ।

एमाओवादी अध्यक्ष दाहालले पार्टीको जारी केन्द्रीय समितिमा आफ्ना धारणा राख्दै सरकार परिवर्तनका सम्बन्धमा विभिन्न कोणमा चर्चा भएको खुलासा गरेका थिए । यद्यपि, एमाओवादीको पहिलो पार्टी संगठन विस्तार नै हुनुपर्नेमा दाहालले जोड दिएका थिए ।

सभापति कोइरालाले संविधान संशोधन विधेयक परिमार्जन गर्न आफू तयार रहेको बताउन नपाउँदै ठाकुरले ‘मुखले भन्ने कुरा सुशीलजीको व्यवहारमा पनि देखाउनुपर्‍यो’ भनेका थिए ।

तमलोपाका महामन्त्री जितेन्द्र सोनलले मोर्चाको पहिलो माग संविधान संशोधन र त्यसपछि सरकारको नेतृत्व परिवर्तन भएको बताए । सीमांकनका सम्बन्धमा प्रमुख दलले ९० दिनको समय माग गरेकामा यसको सम्बोधनका लागि निर्बाचन क्षेत्र निर्धारण, समावेशी र समानुपातिक प्रतिनिधित्वको निर्वाचन प्रणाली र नागरिकता प्याकेजमै ल्याउन ठाकुरले माग गरेको सोनलले बताए ।

मधेसका मागमा कांग्रेस र प्रमुख तीन दलको लिखित धारणा आवश्यक पर्ने उनको भनाइ थियो । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अहिले देखिएको समस्या निकासका लागि ओली सरकार ढाल्नुपर्ने बताए । सोमबारको अन्नपूर्ण पोष्ट दैनिकले समाचार प्रकाशित गरेको छ ।