नाका बन्दी चाँडै तुहिन्छ ः खनाल

0
484

इलाम, पुस ६ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका  वरिष्ठ नेता झलनाथ खनालले भारतले गरेको अघोषित नाकाबन्दी चाँडै हट्ने बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रका मतदाता र कार्यकर्तासँग सोमबार भेटघाट तथा अन्तरक्रिया गर्दै उनले भारतले गरेको अघोषित नाकाबन्दी आफैँ फिर्ता लिने बताएका हुन ।

‘भारतले नाकाबन्दीको मार खेप्नसकेको छैन्, केही दिनभित्रै नाकाबन्दी खुलाउँछ, नेता खनालले भने ‘नाकाबन्दी गरेर भारतले वर्षौदेखिको दुई देशबीचको भाइचारको सम्बन्ध तोडेको छ ।’ मतदाता र कार्यकर्ताले नाकाबन्दीका कारण कृषिजन्य उत्पादन बिक्री गर्न नपाएको, उद्योगधन्दा बन्द हुन थालेको गुनासो राखेका थिए ।

संसदमा रहेका मुख्य राजनीतिक दलको एकताका कारण नयाँ संविधान जारी भएको र यो विश्वकै उत्कृष्ठ संविधान बनेको जिकिर गर्नुहुँदै संविधानलाई तल्लो निकायसम्म पुर्‍याउनु हामी सबैको दायित्व रहेको विचार व्यक्त गरे ।

मधेसका केही टाठाबाठाले अहिले मधेसमा भ्रम सिर्जना गरेर संविधानको अपव्याख्या गर्न थालेको भन्दै सरकारले ‘जनताको संविधान जनताकै माझमा’ भन्ने एक महिने कार्यक्रम ल्याएको र त्यो सबैले बुझ्नुपर्नेमा जोड दिए ।

तीनवटा निर्वाचन क्षेत्र रहेको इलाममा सबैभन्दा बढी बजेट क्षेत्र नं.१ मा छुट्टिएको बताउँदै उनले बजेट कार्यान्वयनमा सबैको साथ र सहयोग रहनुपर्ने बताए । मुलुक अव आर्थिक समृद्धिको पाटोमा उन्मुख रहेको उनको भनाई थियो ।