फिफाद्धारा ब्लाटर र प्लैटिनीमाथि आठ वर्षे प्रतिबन्ध

0
960

एथिक्स कमिटिको छानविनपछि फुटबलको अन्तर्राष्ट्रिय संस्था फिफाका पूर्व प्रमुख सेप ब्लाटर र युईफका प्रमुख मिचेल प्लैटिनीमाथि आठ वर्ष लामो प्रतिबन्ध लगाएको छ।
सेप ब्लाटर यसअघि नै फिफाको प्रमुख पदबाट बर्खास्त भइसकेका छन् । ब्लाटर र प्लैटिनीलाई २० लाख डलर अपचलन गरेको ठहर गरिएको छ। प्लैटिनीलाई सन् २०११ मा यो रकम दिइएको थियो । छानविन समितिले यो रकम गलत तरिकाले दिएको ठहर गरेको हो ।
उनीहरु दुवै जनामाथि लागेको आरोपविरुद्ध उनीहरु पुनरावेदन गर्ने भएका छन् । यो नयाँ प्रतिबन्धपछि सेप ब्लाटर र प्लैटिनीले आठ वर्षसम्म फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधिमा भाग लिन पाउने छैनन् ।
यो प्रतिबन्धपछि फिफामा ब्लाटरको लामो करिअर अन्तय भएको छ। उनी सन् १९९८ मा फिफाको अध्यक्ष बनेका थिए । यद्यपि उनले पहिलै फेब्रुअरी २०१६ मा फिफा अध्यक्षका लागि हुने निर्वाचनमा भाग नलिने घोषणा गरिसकेका थिए ।
६० वर्षीय प्लैटिनीले ब्लाटरको स्थान लिने अनुमान गरिएको थियो । प्लैटिनी तीनपटक युरोपियन फुटबलर अफ द एयर चुनिएका थिए । यसका साथै उनी फ्रान्स फुटबल टिमका कप्तान पनि रहिसकेका छन् । उनी सन् २००७ मा युईफाका अध्यक्ष बनेका थिए । एजेन्सी