पुस १३ देखि १७ सम्म पोखरामा सडक महोत्सव हुने

0
721

काठमाडौँ, ६ पुस । ‘सडकमै खाऔँ, सडकमै नाचाँै र सडकमै रमाऔँ’ भन्ने मूल नाराका साथ यही पुस १३ देखि १७ गतेसम्म १७औँ पोखरा सडक महोत्सव आयोजना हुने भएको हो ।

पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रेस्टुराँ एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) ले हरेक वर्षझँै यस वर्ष पनि आयोजना गर्न लागेको महोत्सव पर्यटकीयस्थल लेकसाइडलाई पूरै समेटेर सहिदचोकदेखि खहरे–डिहिकोपाटनसम्मको करिब साढे तीन किमी क्षेत्रमा सञ्चालन हुनेछ ।

त्यसबाहेक वसुन्धरापार्कमा मुख्य मनोरञ्जनात्मक कार्यक्रम हुनाका साथै होटल र रेस्टुराँको मेनुमा विशेष छुट दिइने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न सङ्घसंस्थाको झाँकी प्रदर्शन तथा प्रतियोगिता, स्थानीय जातजातिको संस्कृतिक प्रदर्शनी, चितवनको थारु सांस्कृतिक नाच समूह, मुस्ताङ लोमान्थाङको सांस्कृतिक समूह, पूर्वाञ्चलको किराँत समूह, लमजुङ घलेगाउँ तथा चीन र दक्षिण कोरियाबाट सांस्कृतिक कार्यक्रम टोलीको प्रदर्शनी रहनेछ ।

त्यस्तै विभिन्न खेलकुद, साहसिक र मनोरञ्जनात्मक गतिविधि, वृत्तचित्र, तस्बिर प्रदर्शनी गरिने रेबानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पत्रकार सम्मेलनमा रेवानका अध्यक्ष प्रमोदकुमार जैसवालले महोत्सव आयोजना हुनाले पोखराको मात्र नभई मुलुकको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

रेवान पोखराका अध्यक्ष गोपीकृष्ण भट्टराईले महोत्सवलाई लक्ष्य गरेर यस वर्ष सडक सुरक्षा, स्वास्थ्य र सरसफाइका लागि विशेष व्यवस्था मिलाइने जानकारी दिनुभयो ।