सामाजिक सद्भाव राखेर आन्दोलन गर्न माधव नेपालको अपिल

0
401

काठमाडौँ, ६ पुस । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता माधवकुमार नेपालले तराई–मधेसमा आन्दोनलका क्रममा भड्काउमा नलाग्न अपिल गर्नुभएको छ ।

नेता नेपालले आज एक प्रेस विज्ञप्ति जारी गरी आइतबार रौतहट जिल्लाको गौर नगरपालिकामा आन्दोलनकारी एवम् सुरक्षाकर्मीबीच झडप हुँदा कक्षा १० मा पढ्ने विद्यार्थीको दुःखद् निधनको खबरले आफूलाई मर्माहत बनाएको र भड्काउमा नलागी सामाजिक सद्भाव राखेर आन्दोलन गर्न अपिल गर्नुभएको हो ।

सुरक्षाकर्मी तथा आन्दोलनकारीतर्फ कैयन व्यक्ति घाइते भएको खबरले आफूलाई स्तब्ध बनाएको भन्दै उहाँले दुःखको घडिमा मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

जारी आन्दोलनमा आवश्यक संयमता अपनाउन, मानवअधिकारको संरक्षण गर्न, सामाजिक सद्भाव कायम गर्न र जनताको जीउधनको रक्षा गर्न आन्दोलनकारी एवम् सुरक्षा निकायसहित राज्यका सम्पूर्ण अङ्गलाई विशेष अपिलसमेत नेता नेपालले गर्नुभएको छ ।