सार्वजनिक सेवा नाम मात्रको : प्रतिबेदन

0
552

काठमाडौँ, ८ पुस । सेवाग्राहीले सार्वजनिक सेवा लिन एक दिनदेखि ९० दिनसम्म व्यर्थमा बिताउनुपर्ने एक अध्ययनले देखाएको छ ।
सार्वजनिक सेवा दिने कर्मचारीले नै आज हुने काम भोलि–भोलि भनेर सेवाग्राहीलाई झुलाइदिने, सेवाग्राहीबाट भनेको जति पैसा नपाएमा वा सेवाग्राहीले नै कामका लागि आवश्यक कागजपत्र जुटाउन नसक्दा एकदिनमै सम्पन्न हुने कामलाई ९० दिनसम्म लाग्ने अध्ययनले देखाएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनल(टिआई) नेपालद्वारा सार्वजानिक सेवा सर्वेक्षणसम्बन्धी अध्ययन प्रतिवेदनमा सेवाग्राहीले भनेका समयमा कुनै पनि सार्वजनिक सेवा नपाएको उल्लेख गरिएको छ ।
टिआई नेपालका लागि राघव विष्टको समूहले सिराहा, दोलखा, भक्तपुर, रौतहट, बागलुङ, रुपन्देही, बाँके, दाङ र दार्चुलाका मालपोत, भूमिसुधार, जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, गाविस, जिल्ला वन, शिक्षा, कृषि कार्यालयलगायत १४ वटा कार्यालयमा सो अध्ययन सम्पन्न गरेको थियो । ती कार्यालयमा गएका एक हजार १५३ जना सेवाग्राहीसँग सो अध्ययन सम्पन्न गरिएको थियो ।

प्रतिवेदनमा रु १० शुल्कमा सम्पन्न हुने लाग्ने कामका लागि रु १०० देखि एक हजारसम्म तिर्नुपर्ने बाध्यता परेको, सिधैँ सेवा पाउने कार्यालयमा तेस्रो पक्षको समेत उपस्थिति हुने गरेको पाइएको विष्टले कार्यक्रममा जानकारी दिनुभयो ।
उहाँले सार्वजनिक सेवाका विविध पक्षमाथि जानकारी दिन सुरु गरिएको नागरिक वडापत्रको प्रभावकारिता नदेखिएको, वडापत्र कार्यालयको कौसी, कार्यालय पछाडिमा राखेको पाइएको र नागरिक वडापत्र अध्ययन गर्ने बानी सेवाग्राहीमा नभएको पाइएको जानकारी दिनुभयो ।