भट्टराई जस्ता नेता देशलाई खाँचो :प्रधानमन्त्री ओली

0
371

ललितपुर, ८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसक्दो छिटो संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली काँग्रेसका नेता स्व कृष्णप्रसाद भट्टराई आश्रम प्रतिष्ठानद्वारा आज यहाँ आयोजित सन्त नेता भट्टराईको शालिक अनावरण तथा ९२ आंँै जन्मजयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबै राजनीतिक दल एकताबद्ध भई संविधान कार्यान्वयन गर्नुपर्ने र देशलाई विकास पथमा लैजानुपर्ने बताउनुभयो ।

उहाँले आम नेपालीलाई साथमा लिएर राजनीतिक दल दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रियताको जगेर्नामा लाग्नुपर्ने बताउनुभयो ।

लोकतन्त्रलाई संस्थागत गर्न र देश विकासलाई गति दिन सरकारले अहम् भूमिका खेलिरहेको बताउँदै उहाँले गम्भीर रुपमा कूटनीतिक पहल अगाडि बढिरहेकाले छिट्टै नाकाबन्दी खुल्ने विश्वास व्यक्त गर्नुभयो ।

सन्त नेता भट्टराईले देश र राष्ट्रियताका लागि सबैलाई साथमा लिई अगाडि बढेको स्मरण गर्दै उहाँले भट्टराई जस्ता नेता मुलुकका लागि खाँचो छ भन्नुभयो ।