काठमाडौँ, ८ पुस । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा आफ्ना चिनियाँ समकक्षी बाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गर्नुभयो ।
थाइल्याण्डको राजधानी बैँकक हुँदै चीनको राजधानीतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले चीनसँगको पारस्परिक सम्बन्ध सुदृढीकरणका साथै खुला व्यापार एवम् इन्धन आयात गर्नेबारेमा प्राथमिकताका साथ चिनियाँ उच्च नेतृत्वसँग छलफल गर्ने बताउनुभयो ।
आफ्नो चीन भ्रमण नियमित भएको स्पष्ट गर्दैै उहाँले नेपाल–चीन दौँत्य सम्बन्ध स्थापनाको ६०औँ वर्ष पूरा हुन लागेको र संविधानसभाबाट संविधान जारी भएसँगै नयाँ सरकार गठन भएको अवस्था हुन लागेको भ्रमण आपसी हित प्रवद्र्धनमा उपयोगी हुने बताउनुभयो ।
“मित्रराष्ट्र चीन विश्वकै आर्थिक महाशक्तिका रुपमा स्थापित हुँदै आर्थिक विकास र समृद्धितर्फ केन्द्रित भएकाले नेपालले पनि नयाँ परिवेशमा व्यापार, लगानी, पर्यटनका क्षेत्रमा चीनसँग सम्बन्ध विस्तारको प्रयास गर्नेछ,” खुला व्यापार नीतिको अवधारणाअनुसार चीनसँगको सम्बन्धलाई अघि बढाउनमा आफू केन्द्रित रहने परराष्ट्रमन्त्री थापाले जानकारी दिनुभयो