कास्कीको चाउथेमा आगलागी,एकै घरका चार जनाको मृत्यु ।

0
675

पोखरा, १५ पुस । पोखरामा निसास्सिएर एकै परिवारका चार जनाको ज्यान गएको छ । पोखरा १४ चाउथेस्थित प्रगतिटोलमा आगलागीबाट निस्किएको धुवामा निसास्सिएर चार जनाको ज्यान गएको हो । स्थानिय मानबहादुर रानाको घरको एउटा कोठामा विद्युत सर्ट भई आगलागी हुँदा निसास्सिएर रानाकी श्रीमति ३६ बर्षिय सीता, छोरा ११ बर्षका सिमान्त, सीताकी आमा स्याङजा मल्याङकोटकी ५५ बर्षिया गंगाकुमारी फाल र दिदीकी छोरी स्याङजा वालिङकी २८ बर्षिया वसन्ती मगरको ज्यान गएको हो । प्रहरी निरीक्षक वेदप्रकाश जोशीका अनुसार राति विद्युत सर्ट भएर एउटा कोठामा आगलागी भएपछि अन्य कोठामा सुतेका उनीहरुको ज्यान गएको हो । दुई तले घरको माथिल्लो तलामा रहेको सिटिङ रुममा आगलागी भएपछि त्यसबाट निस्केको धुवाले निसास्सिएर त्यहाँ रहेका सबैको ज्यान गएको जोशीले बताए । झ्याल, ढोका पुरै बन्द गरेर सुतेकाले धुवा निस्कने ठाउँ नहुँदा उनीहरुको ज्यान गएको हो । मान बहादुर भने  वैदेशिक रोजगारीको लागि इजरायलमा छन् । राति कति बेला विद्युत सर्ट भएर आगलागी भयो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । भुई तलामा बस्नेहरुले बिहान माथिल्लो तलाबाट धुँवा निस्किएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । बिहान ६ बजे प्रहरी पुगेर झ्याल ढोका फोरेर हेर्दा सबै मृत भेटिएका थिए । आगलागीबाट एउटा कोठा पुरै जलेको छ ।  ‘एउटा कोठा मात्रै पूर्ण रुपमा जलेको छ, अन्य कोठामा धुँवा मात्रै बारिएको थियो, ’ उनले भने ‘धुवा जानसक्ने गरी झ्याल खुल्ला राखेको भए उनीहरुको ज्यान बच्न सक्थे  ।