काठमाडौँ, २१ पुस । आजको व्यवस्थापिका–संसद्ले दुईवटा बिद्येयक पास गरेको छ । ‘राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष र सदस्यको पारिश्रमिक सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७१’ र मेलमिलापसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७१पारित गरेको हो । उक्त विधेयक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले सदन समक्ष प्रस्तुत गर्नुभएको थियो । विधेयकमा कुनै पनि सांसदले संशोधन दर्ता नगराउनु भएकाले सदनमा दफाबार छलफल गर्नु परेन । त्यसैगरी ‘मेलमिलापसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७१ मा पनि संसोधन नपरेकाले पारित भएको छ । त्यसै गरि व्यवस्थापिका–संसद्को आजको बैठकमा तीनवटा फरक फरक विधेयक पेस भएका छन् । अर्थ राज्यमन्त्री दामोदर भण्डारीले ‘कर्मचारी सञ्चय कोष (नवौँ संशोधन) विधेयक, २०७१’ र ‘लेखा परीक्षण (पहिलो संशोधन) विधेयक, २०७१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । सो प्रस्तावलाई सदनले बहुमतले स्वीकृत गरेको छ । यस्तै शिक्षामन्त्री गिरिराजमणि पोखरलले ‘खुल्ला विश्वविद्यालय विधेयक, २०७२’ विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । व्यापकस्तरमा नागरिकलाई दीक्षित गर्ने र सहजरुपमा शिक्षा दिने उद्देश्यले उक्त विधेयक ल्याइएको मन्त्री पोखरेलको कथन थियो । व्यवस्थापिका–संसद्को अर्को बैठक बुधबार बिहान १० बजे बस्नेछ ।