म्याग्दी, २३ पुस । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारका कामकारबाही प्रभावकारी नभएपनि काँग्रेस सरकार गिराउने खेलमा नलाग्ने बताउनु भएको छ । भूकम्प पिडितले राहत नपाएकोमा भने सरकारको आलोचना गर्नु भयो । राहत नपाएका कारण पिडितको ज्यान दुखद भएको भन्दै सरकारलाई संबेदनसिलताका साथ काम गर्न सुझाव दिनु भयो । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिटौलाले राष्ट्रिय एकताले मात्रै नयाँ संविधानको कार्यान्वयन सम्भव रहेको बताउनुभएको छ । उहाँले मुख्य दलहरुबीचको सहकार्यले मात्रै नयाँ संविधान जारी भएकाले संविधानको सहज कार्यान्वयनका लागि दलहरुबीच राष्ट्रिय एकताको आवश्यकता रहेको बताउनुभयो । नयाँ संबिधानले मुलुकमा राजनीतिक पद्धति स्थापित हुने भएकाले पहिलो चरणको संविधानको कार्यान्वयनसम्म दलहरुबीचको सहकार्य र एकता आवश्यक हुने उहाँको भनाइ थियो । कुनै पार्टी विशेषबाट मात्रै संबिधानको कार्यान्वयन सम्भव नहुने उहाँको धारण थियो। संविधान संशोधनको लागि व्यवस्थापिका–संसद्मा प्रस्ताव दर्ता भएको बताउँदै उहाँले मधेस केन्द्रित दलले उठाएका माग संवादबाटै सम्बोधन हुने बताउनुभयो ।