भक्तपुर, २९ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्द पोखरेलले गाऊँले जनताको आर्थिक क्षमता बृद्धि गर्न सरकारले घरघरमा होम स्टे अभियान सुरु गरेको बताउनुभएको छ । आज भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिकाको दोस्रो नगर परिषद्को उद्घाटन कार्यक्रममा बोल्दै उहाँले ग्रामिण पर्यटनको विकास नभएसम्म पर्यटन क्षेत्रको बिकास सम्भव नभएकाले मन्त्रालयले होम स्टे अभियान सुरु गरेको बताउनुभएको हो । उहाँले पुनःनिर्माणका क्रममा नयाँ बन्ने घरमा अनिवार्य रुपमा दुईवटा कोठा पर्यटकका लागि बनाउनुपर्ने व्यवस्था गर्न सहरी विकास मन्त्रालयसँग छलफल भइरहेको बताउनुभयो । पर्यटन क्षेत्रको विकासले मात्रै नागरिकको आर्थिक विकास हुने मन्त्री पोखरेलको भनाइ थियो । “नगरकोट आएर हिमाल हेर्ने र ५५ झ्याले दरबार हेरेर मात्रै पर्यटक फर्कने जमाना गएको बताउँदै अब प्रत्येक घरघरमा होम स्टेको विकास गरेर कम्तीमा पनि दुई दिन पर्यटकलाई होम स्टेमा राख्ने गरी पर्यटन क्षेत्रको विकास गर्नु पर्ने उहाँको धारण थियो । भूकम्पले भत्किएका सबै धार्मिक तथा ऐतिहासिक मठ–मन्दिर एवम् सम्पदाको पुनःनिर्माण सम्पन्न अझै ६ बषृ लाग्ने मन्त्री पोखरेलले बताउनु्भयो । कार्यक्रममा पूर्व उद्योगमन्त्री महेश बस्नेत, सांसद रामेश्वर ढुङ्गेल, केदार सञ्जेल, पूर्व सांसद लेखनाथ न्यौपाने, प्रमुख जिल्ला अधिकारी तोयम राया, लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत होतराज लम्सालले आव २०७३÷७४ का लागि रु ११ करोड ४७ लाख ३५ हजारको बजेट सार्वजनिक गर्नुभएको थियो ।