काठमाडौं, पुस ३० । मधेसी मोर्चाले उठाएका माग पूरा गर्न तीन दल सकारात्मक भएका छन् ।
आन्दोलनरत मोर्चाका मागका विषयमा साझा धारणा बनाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुको बैठक अधिकांश माग पूरा गर्न सकारात्मक भएको हो ।
बैठकपछि नेताहरुले शुक्रबार दुई पक्षीय कार्यदलको बैठक बस्ने र सोही बैठकले सहमतिको ड्राफ तयार पार्ने बताएका छन् । बिहीबार बस्ने भनिएको कार्यदलको बैठक पनि आन्तरिक छलफल गर्नुपर्ने भन्दै स्थगित गरिएको छ ।
कार्यदलको बैठक बस्नुअघि दलहरुबीच आन्तरिक छलफल गर्ने सहमति भएको छ । शुक्रबार बस्ने कार्यदलको बैठकमा सहमति जुट्न नसके प्रमुख तीन दलका शीर्ष नेता र मधेसी मोर्चाका शीर्ष नेताबीच पुनः छलफल गर्ने सहमति भएको नेताहरुको भनाइ छ ।