काठमाडौँ, ५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकप खेल्ने तयारीमा रहेका उन्नाइस वर्षमुनि (यु–१९)को राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सगरमाथा सम्झीएर चौका—छक्का हान्न आग्रह गर्नुभएको छ । आगामी हप्ता बङ्गलादेशमा हुने विश्वकप खेल्न जानुअघि प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका टोलीका सदस्य र पदाधिकारीलाई सफलताको शुभकामना दिँदै उहाँले खेलेका बेला सगरमाथा सम्झनुहोस् ताकि तपार्इंको ब्याटले छक्का–चौका हानोस्, तपाईंको बलले विकेट ढालोस् भन्दै शुभकामना दिंदा हलभीत्र हासोको फोहोरा छुटेको थियो। प्रधानमन्त्री ओलीले खेलमा सफलता हासिल गर्न दक्षतासँगै आत्मविश्वास र अनुशासन पनि उत्तिकै जरुरी रहेको बताउँदै भन्नुभयो, “अहिले क्रिकेटमा आकर्षण छ, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले ढिलो पाइला चालेको भए पनि यसले राष्ट्रिय गौरव बढाएको छ । सो अवसरमा युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, नेपाल क्रिकेट सङ्घ तदर्थ समितिका अध्यक्ष रमेश सिलवाललगायतले नेपाली युवा खेलाडीबाट नेपालले राम्रो परिणामको आशा राखेको बताएका थिए । नेपालले पहिलो खेल यही माघ १४ गते न्युजिल्यान्डविरुद्ध खेल्दैछ भने भारत र आयरल्यान्ड पनि सोही समूहमा रहेका छन् ।