विराटनगर, माघ ८ । मोरङको रंगेलीमा बिहिबार प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएपछि लगाइएको कर्फ्यु शुक्रबार बिहानबाट हटाइएको छ ।
स्थिति सामान्य बन्दै गएपछि कर्फ्यु हटाइएको स्थानीय प्रशासनले जनाएको छ ।
नेकपा एमालेको भ्रातृ संगठन युवा संघले गरेको जागरणसभा विथोल्न गएका मोर्चाका कार्यकतालाई रोक्ने क्रममा बिहिबार झडप भएपछि प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको थियो ।
रंगेलीको नेपाल बैंक अगाडि युवा संघले कार्यक्रम गरिहेको बेला अपरान्ह ३ बजेतिर मधेसी मोर्चाका कार्यकर्ताहरु लाठी र भाटासहित कार्यक्रम स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रण गर्न ५० राउण्ड गोली चलाएको थियो ।
थप हिंसात्मक घटना हुन नदिन स्थानीय प्रशासनले साँझदेखि रंगेली क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।
युवा संघले प्रधानमन्त्री केपी ओलीलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्ने घोषणा गरेपछि मधेसी मोर्चाले बुधबारदेखि नै कार्यक्रम बिथोल्ने घोषणा गरेको थियो ।
उता मोरङको रङ्गेलीमा घटेको घटनालाई लिएर मधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार बिहानैदेखि धनुषामा आमहडताल आह्वान गरेका छन् । आमहडतालका कारण जनकपुर र आसपासका क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
केही दिनदेखि सहज भएको जनजीवन आमहड्तालका कारण आजदेखि पुनः कष्टकर भएको छ । हडतालका कारण शैक्षिक संस्थान, बजार, कलकारखाना र यातायात पनि बन्द गरिएको छ ।
मोर्चाका कार्यकर्ता र नेताहरु बिहानैदेखि जनकपुरका मुख्य चोकहरुमा टायर बालेर लाठी लिएर प्रदर्शन गरिरहेका छन् ।