रंगेली घटनाको बिरोधमा ठाउँ—ठाउँमा प्रदर्शन

0
251

माघ ८ काठमाण्डौ । हिजो मोरङको रंगेली र डायनियामा प्रहरीको गोली लागि ३ जनाको मृत्यु भएपछि मधेसी मोर्चाका कार्यकर्ताले आज बिहानैदेखि विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । मोर्चा कार्यकर्ताले गएराति रंगेली ३ चोपडा टोलस्थित सशस्त्र प्रहरीको निर्माणधिन भवनमा क्षति पु¥याएका छन् ।
विहानैदेखि बजार र यातायात बन्द गराउँदै हिंडेका उनीहरुले रंगेली–विराटनगर सडकखण्डमा यातायात चल्न दिएका छैनन् । यस्तै, मोर्चाका कार्यकर्ता र स्थानीय नेताहरूले जनकपुरका चोक चोकमा टायर बालेर लाठी लिएर प्रदर्शन गरिरहेका छन् । यसैगरी, मोर्चा कार्यकर्ताहरुले बाराको सदरमुकाम कलैयामा दुइवटा मोटरसाइकलमा आगजनी गरेका छन् । भरतचोकमा रहेका दुई मोटरसाइकलमा आगजनी गरिएको प्रहरीले जनाएको छ । भारतको आधापुरबाट मोटरसाइकलमा पेट्रोल ल्याएकोले मोर्चाका कार्यकर्ताले मोटरसाइकल चालकलाई कुटपिट गर्नुका साथै ना १० प २८ २५ र लु १ प ९५ ५० नम्बर का दुईवटा मोटरसाइकल आगजनी गरेका हुन् । यसैबीच, हिजो मोरङको रंगेलीमा प्रहरीको गोली लागी ३ जनाको मृत्यु भएको घटनाबारे छानविन गर्न एकिकृत माओवादीका सांसद शिवकुमार मण्डलको संयोजकत्वमा छानविन समिति गठन भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा आज बिहान भएको राजनैतिक दल सम्मिलित सर्वदलीय, सर्वपक्षीय बैठकले मोरङ क्षेत्र नम्बर ४ का सांसद मण्डलको संयोजकत्वमा समिति गठन गरेको प्रमुख जिल्ला अधिकारी तोयम रायले जानकारी दिनुभयो । समितिमा एमालेका अध्यक्ष महेश रेग्मी र कांग्रेस सचिव यदु विष्टसहित अन्य दल संघ संस्थाका प्रतिनिधि सहभागी छन ।