एजेन्सी माघ ९ । ग्रीसमा आप्रवासी सवार रहेको डुंगा दुर्घटना हुँदा ४२ जना भन्दा बढिको ज्यान गएको छ । आप्रवासीहरु सवार दुईवटा डुंगाहरु ग्रीसका दुई टापु नजिकै अत्यन्त चिसो पानीमा दुर्घटनाग्रस्त भएका हुन्।एउटा डुंगा कालोलिम्नोस नामक सानो ग्रीक टापु नजिकै डुबेको थियो, जसमा ११ बालबालिका सहित ३४ जनाको ज्यान गएको थियो। अर्को टापु फार्माकोनिसी नजिकै दोस्रो डुंगा डुबेपछि अन्य ८ जनाको मृत्यु भएको थियो। गत वर्ष दस लाख भन्दा बढी आप्रवासीहरु युरोप पुगेका थिए। जुन प्रयासमा टर्कीबाट ग्रीस जाने क्रममा एजियन समुद्रमा ७ सय भन्दा बढीको ज्यान गएको थियो।
फ्रान्सका प्रधानमन्त्री म्यानुएल भाल्सले ईराक र सिरियाको द्वन्दबाट भागिरहेका शरणार्थीलाई युरोपले राख्न नसक्ने र राखिरहेमा समाज अस्थिर हुने बिश्लेषण गरेका छन् । आप्रवासी संकटका बारे जर्मनी र टर्कीका सरकारले बर्लिनमा संयुक्त क्याबिनेट बैठक गरि आधिकारीक धारण सार्वजनिक गर्ने तयारी गरेका छन्।
बिहीबार फ्रान्सका प्रधानमन्त्री म्यानुएल भाल्सले आप्रवासी संकटले युरोपेली संघलाई गम्भीर जोखिममा पारेको चेतावनी दिएका थिए।