स्वस्थानी ब्रतको महात्म्य आजबाट,महत्व के के होला ?

0
711

माघ ९ काठमाण्डौ । समग्र हिन्दुहरुले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत र कथावाचन आजदेखि सुरु भएको छ । नेपाली हिन्दू धर्मावलम्बी महिलाले एक छाकमात्र शुद्ध खाना खाई एक महिना स्वस्थानी व्रत बसी र माघ स्नान गर्ने गरेका छन् । पौष शुक्ल पूर्णिमाको अघिल्लो दिनै हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत गर्ने धार्मिक प्रचलन रहेको छ । एक महिना सम्म हरेक बेलुकी  ‘स्वस्थानी व्रत कथा’ घर घरमा सुन्ने र सुनाउने गरी स्वस्थानीको प्रसाद र नैवेद्य ग्रहण गरिन्छ । एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ बेलीपुष्प(फूल) १०८ रोटी, १०८ अक्षता, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउई स्वस्थानीको ब्रत बस्ने गरिन्छ  । सय रोटी आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । यसरी स्वस्थानीको ब्रत बस्नाले मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो ।  स्वस्थानीका चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी व्रतकथामा उल्लेख गरिएको छ । यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ ।  यस अवसरमा आजैदेखि एक महिनासम्म काठमाडौँ उपत्यकाको उत्तर पूर्वी भेग साँखुस्थित शालीनदीमा माघस्नानसहित माधवनारायणको मेला सुरु भएको छ ।  माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास रहेको छ, यो विश्वासमा प्रत्येक वर्ष लाखौँ भक्तजन शाली नदिमा जाने गरेका छन् ।