सरकार गम्भिर छैन : आयोग

0
409

कठमाण्डौ माघ १० । राष्ट्रिय मानव अधिकार आयोगले सरकारमाथि मधेस आन्दोलन सम्बोधन गर्न गम्भीर र सम्वेदनशील नभएको आरोप लगाएको छ ।
रंगेली घटनाको निष्पक्ष छानविनको माग गर्दै ज्ञापनपत्र लिएर आज आयोगको कार्यालय पुगेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुसँग आयोगका अध्यक्ष अनुपराज शर्माले नियन्त्रणका उपाय हुँदाहुँदै आन्दोलनकारीमाथि गोली प्रहार गरिनुले आयोग चिन्तित भएको बताउनु भयो ।
उहाँले प्रहरीले आन्दोलनकारीमाथि छाती र टाउकोमा गोली प्रहार गर्नु निकै गम्भीर विषय भएको भन्दै रंगेली घटनाबाट राज्य गम्भिर छैन भन्ने पुष्टि भएको आरोप लगाउनु भयो ।
आयोगका अध्यक्ष शर्माले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आन्दोलनलाई आयोगले अस्तित्व र पहिचानको आन्दोलनका रुपमा लिएको बताउनुभयो ।
उहाँले रंगेली घटनाको आयोगले निष्पक्ष छानविन गर्नेमा ढुक्क हुन मोर्चाका नेताहरुसँग आग्रह पनि गर्नुभयो ।