परिवार नियोजन सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन आज देखि बालीमा ।

0
578

काठमाडौ, ११ माघ । इन्डोनेसियाको बालीमा आजदेखि परिवार नियोजनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । चार दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित एकसय ५० बढी राष्ट्रका सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरुको सहभागिता रहनेछ । अन्तर्राष्ट्रिय प्रतिबद्धता, स्थानीयस्तरमा काम भन्ने नाराका साथ सम्मेलन हुन लागेको हो । सम्मेलनमा परिवार नियोजनको साधनको बढ्दो प्रयोग र त्यसले विशेष गरी महिलाको स्वास्थ्यमा पार्ने असर, परिवार नियोजनका नयाँ नयाँ साधन र त्यसबारेको जानकारी, पहुँच र उचित प्रयोग जस्ता विषयमा केन्द्रीत रहेर सम्मेलनमा छलफल हुनेछ । सम्मेलनबाट आएको निष्कर्षलाई ‘बाली प्रतिबद्धता’ का रुपमा सार्वजनिक गर्ने कार्यक्रम रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन् । सम्मेलनको आयोजना संयुक्त राष्ट्रसंघीय निकाय यूएनएफपिएका साथै यूएसएड, मेरी स्टोप्स इन्टरनेशनललगायत यस क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुको संयुक्त आयोजनामा भएको हो ।