मधेश आन्दोलन अब के हुन्छ ?

0
401

काठमाडौं, माघ ११ । संविधान संशोधनलाई भारतले सकारात्मक कदम भने पछि कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न मधेसी मोर्चाको बैठक सोमबार बस्दै छ । प्रमुख तीन दलले आफूखुसी संविधान संशोधन गरेको भन्दै मोर्चाले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने वा आन्दोलन स्थगीत गर्ने भन्ने निष्कर्षमा पुग्ने भएको छ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोका अनुसार सीमानाकामा जारी धर्ना कार्यक्रमलाई निरन्तरता दिंदै आन्दोलनका थप कार्यक्रम तय गर्ने तयारी मोर्चाले गरेको छ ।
संघीय समाजवादी फोरमको केन्द्रीय समिति बैठकले पनि नाकाको धर्ना निरन्तर राख्ने निर्णय गरेको छ ।
मोर्चाले आन्दोलनका कार्यक्रमलाई अब काठमाडौंमा पनि केन्द्रित गर्ने तयारी गरेको छ । सिंहदरबार घेराउलगायतका आन्दोलनका कार्यक्रमका लागि काठमाडौंका विभिन्न जनजाति पार्टी र समूहसँग सहकार्य गर्ने तयारी पनि मोर्चाको छ ।

भारत सँगको प्रमुख ब्यापारीक वीरगन्ज–रक्सौल नाका एक सय २४ दिनदेखि ठप्प छ । संविधान संशोधनपछि भारतले नाका खोलिदिन्छ भन्ने आसमा रहेका सर्वसाधारण मोर्चाले आइतबारबाट नाका अवरोधलाई अझै कडा पारेपछि निराश बनेका छन् ।
नाका खुलाउन ‘माथि’बाट कुनै निर्देशन नआएको सीमास्थित भारतीय सुरक्षाकर्मीले बताएका छन् । नेपालकै आन्दोलनकारीको अवरोधका कारण नाकामा समस्या भएको दाबी भारतीय पक्षको छ । विगत एक महिनादेखि नाकामा पाँच–सातजना मात्र धर्नाकारी बस्दै आएका छन् ।