काठमाडौ, १५ माघ । नेपाली कांग्रेसको आसन्न १३औँ महाधिवेशनका लागि आज गाउँ, नगर वडा र नगर अधिवेशन देशभरी एकैसाथ भैरहेको छ ।
आज मुलुकभरका सबै गाविस, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाका वडाहरुमा एकैसाथ कांग्रेसको प्रारम्भिक तहको निर्वाचन भैरहेको छ । अधिवेशनमा सबै गाविस र नगर वडाबाट झण्डै एक लाख ४७ हजार क्षेत्रीय प्रतिनिधि तथा स्थानीय समितिका पदाधिकारी र सदस्य निर्वाचित हुनेछन् ।
पार्टीको नयाँ नेतृत्व छनोटमा समेत प्रभाव पार्ने भएकाले कांग्रेसका संस्थापन र शेरबहादुर देउवा पक्ष बिच गाउँ, नगर तहदेखि नै प्रतिष्पर्धा भएको छ ।
यो अधिवेशन पार्टीको प्रारम्भिक तहको निर्वाचन भए पनि पार्टीको जिल्ला र केन्द्रको नेतृत्व चयनका लागि आवश्यक पर्ने महाधिवेशन प्रतिनिधि चयनमा महत्वपूर्ण रहेको छ। कांग्रेसको क्षेत्रीय अधिवेशन आउँदो २२ गते र जिल्ला अधिवेशन २५ गते हुने निर्वाचन तालिका छ । केन्द्रीय महाधिवेशन भने आउँदो फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुनेछ ।