छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ को मृत्यु।

0
342

माघ १९। काठमाण्डौं, धादिङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
सुनसरी इटहरीको हलगडा चोकमा आज बिहान ट्रिपरको ठक्करबाट मोटरसाइलकमा सवार दुई जनाको मृत्यु भएको छ ।
धरानबाट इटहरीका लागि छुटेको को १३ प ९१ १९ नम्बरको मोटरसाइकललाई इटहरीबाट धरानका लागि छुटेको मे १ ख १८ २२ नम्बरको ट्रिपरले ठक्कर दिँदा मोटरसाइकल चालक धरान–१३ का यामबहादुर राई र पछाडी बस्ने महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालक राईको घटनास्थलमै तथा महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने ट्रिपर र चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।
यसैगरी, काठमाडौं कोटेश्वरमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौंको पुरानो बसपार्कका लागि छुटेको बा २ ख ६९ ८४ नम्बरको यात्रु बसको ढोकाबाट खसेका भक्तपुर ठिमीका १७ वर्षका सिर्जन ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तै, धादिङको नौबिसेमा आज बिहान बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ । एक जना गम्भिर घाईते भएका छन् ।
नौबिसेमा बा ६२ प ५७ १७ नम्बरको मोटरसाईकललाई बा ३ ख ६१ ३८ नम्बरको बसले ठक्कर दिदाँ मोटरसाईकलमा सवार पहिचान नखुलेका एक पुरुषको मृत्यु भएको नौबिसे प्रहरीले जानकारी दिएको छ ।