मधेश आन्दोलन अझै चर्कन्छ : ठाकुर

0
556

वीरगंज, माघ २० अशोक तीवारी । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसका मागहरु लिखित कार्यन्वयन नगरेसम्म आन्दोलन नरोकिने बताउनु भएको छ । मधेसी पत्रकार समाज पर्साले बिरगञ्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै ठाकुरले संयुक्त लोकतान्त्रिक मोर्चाको अगामी बैठकबाट नाकाबन्दीसंगैै नयाँ कार्यक्रमहरु सार्वजनिक गरिने बताउँनु भयो । उहाँले जारी मधेस आन्दोलनलाई सरकार र तस्करहरुले बदनाम गराएको आरोप लगाउनु भएको छ । मोर्चाको एक घटक रहेको तमलोपा अध्यक्ष ठाकुरले आफूहरु वार्ता विरोधी नरहेको स्पष्ट पार्दै सरकार र प्रमुख दलहरुले वार्ताको नाममा नौटंकी मात्रै गरेकोले सहमती नभएको बताउनु भयो । सरकार र प्रमुख दलहरुले सीमांकन बारे स्पष्ट धारणा नल्याए सम्म नाकाबन्दी जारी रहने उहाँको भनाई थियो । मधेस आन्दोलनलाई अझ सशक्त र उपलब्धीमुलक बनाउनको लागि मधेसमा क्रियाशिल अन्य राजनितीक दल एवं संगठनहरु संग मोर्चा सहकार्य गरी अगाडी बढने ठाकुरले जानकारी दिनु भयो । पत्रकार सम्मेलनमा तमलोपाका केन्द्रिय उपाध्यक्ष बृखेशचन्द्र लाल,महामन्त्री जितेन्द्र सोनल, संसदिय दलका उपनेता वृजेश गुप्ता लगायतको सहभागिता रहेको थियो ।